२३ वर्षपछि लाभांश घोषणा गर्दा नेपाल बैंकको शेयरमा लगानीकर्ताको आकर्षण

विराटचोकः सरकारी स्वामित्वमा रहेको नेपाल राष्ट्र बैंकले २३ वर्षपछि शेयरधनीको लागि लाभांश प्रस्ताव गरेपछि आज सो कम्पनीको शेयर किन्न लगानीकर्ता झुम्मिएका छन् ।

बजार खुलेको १ घण्टामै सो कम्पनीको उच्च अङ्कको शेयर किनबेच भएको छ । आइतबार प्रतिकित्ता ३ सय १९ रुपैयाँमा बन्द भएको सो कम्पनीको शेयर आज २ प्रतिशत बढेर ३ सय २५ रुपैयाँमा खुलेको थियो । पछि मूल्य बढ्दै ३ सय ३२ रुपैयाँसम्म पुगे पनि अहिले भने ३ सय २३ रुपैयाँमा कारोबार भइरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

१ घण्टाको समयमा जम्मा ८ करोड ४६ रुपैयाँको शेयर कारोबार हुँदा नेपाल बैंकको मात्रै ३ करोड ९० लाख २० हजार रुपैयाँको शेयर किनबेच भएको छ । मार्केट डेप्थ हेर्दा नेप्सेको सूचकसँगै क्रेता र बिक्रेताबीच तीव्र मोलमोलाइ भइरहेको देख्न सकिन्छ । अहिले सो कम्पनीको शेयर बेच्नेभन्दा किन्ने लगानीकर्ता बढी देखिन्छन् । १ लाख ३० हजार ४ सय ५ कित्ता शेयर खरीद अर्डर रहेको छ भने ८३ हजार ४८ कित्ता शेयर बिक्री अर्डरमा देख्न सकिन्छ ।

सो बैंकको सञ्चालन समितिको हिजो बसेको बैठकले लगानीकर्तालाई १५ प्रतिशत शेयर बोनस र करसहित १० प्रतिशत नगद बोनस दिने निर्णय गरेको थियो । सो जानकारी पाएपछि लगानीकर्ता नेपाल बैंकको शेयर खरीदमा झुम्मिएका हुन् । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पास गरेपछि मात्रै लगानीकर्ताले पाउँछन् ।

 




Leave a Reply

Your email address will not be published.