बीपी प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले दिए राजिनामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् ।
सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उनको तर्क छ ।

बिहिबार मात्रै प्रतिष्ठानका ६ जना सिनेट सदस्यले कुलपति समेत रहेका प्रधानमन्त्रीलाई प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।
स्वास्थ मन्त्रालयले चारै जनालाई पदमुक्त गर्न प्रक्रिया थाल्ने सहमति गरेको भएपनि आन्दोलरत पक्षले आफूहरुको माग पुरा गर्न ढिला गरेको भन्दै विभिन्न ६ बुँदे मागहरु राख्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् ।

यस्तै यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।
त्यसपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बीपी प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो ।