इन्द्रपुर जेसीजद्वारा वृक्षरोपण

विराटचोकः इन्द्रपुर जेसीजले सोमबार बिहान वृक्षरोपण कार्यक्रम गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ कालीखोलास्थित नौ धारा मुहानको पोखरी आसपास विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको जेसीज सप्ताह मूल आयोजक समितिकी संयोजक बिना सुवेदीले बताइन् । वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राई रहेका थिए ।

समाजमा स्थापित यस्ता संस्थाले राज्यको ध्यान नपुगेको ठाउँमा पनि गतिविधि गर्दा सार्थक ढ्ङगले समाज विकासको लागि योगदान पुगेको प्रमुख राईले चर्चा गरेका थिए । ‘हरियो वन नेपालको धन’ भनाइमा मात्र सीमित रहेको बताउँदै जङ्गल मासिँदै गएकोप्रति वृक्षरोपण गरी हरित नगरमा बनाउन सबै चनाखो भई लाग्नुपर्ने बताएका छन् । वृक्षरोपणजस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा जेसीजलाई धन्यवाद समेत दिएका थिए ।

आज भएको वृक्षरोपणमा एक सय बिरुवा रोपिएको वृक्षरोपण कार्यत्रमकी संयोजक पार्वती गच्छदारले बताइन् । रोपिएका केही बिरुवा दिपेश नर्सरीबाट निःशुल्क प्राप्त भएको र केही बिरुवा किनिएको आयोजकले जनाएको छ । जेसीज सप्ताह मंसिर ७ गते समापन हुने भएको छ ।