राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

प्रशिक्षक ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए ।

ह्वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो । उक्त सिरिजमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि ह्वाटमोरबाट निकै आशा गरिएको थियो । ह्वाटमोरले आफ्नो सम्झौता अवधिको तीन महिना बाँकी रहँदा नै पद छाड्ने निर्णय लिएका हुन् ।