झापामा हात्ती छेक्न थप ५८ किलोमिटर विद्युतीय तारबार

झापा । झापामा निर्माणधीन ‘हात्ती करिडर’ मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको हो ।

भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ ।
यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए । सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ ।

उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ ।
कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो । अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ ।