साफ च्याम्पियनसिपको अन्तिम तयारी दोहामा

राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ । आयोजक समेत रहेको साविक विजेतासँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । अहिले टोलीमा रहेका २५ खेलाडीनै कतार जाने बताइएको छ ।
अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका सिलसिलामा टोली पोखरामा रहेको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । भारत पनि साफ च्याम्पियनसिपको तयारीकै क्रममा मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो ।