झापामा भदौ २० सम्म निषेधाज्ञा थप

झापा ।
झापामा भदौ २० सम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमणदर र मृत्युदरमा कमी नआएपछि जिल्लामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय थप गरेको छ ।
अब ती पसलहरूले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरिएको छ । कपडा, हार्डवेयरलगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।