भाउन्ने आमतोला सडक कालोपत्रे गर्न सांसद सुयर्मा राईद्वारा सरकारको ध्यानाकर्षण

बिराटनगर । प्रदेश सांसद सुयर्मा राईले प्रदेश १ संसदमा ’भाउन्ने–आमतोला सडक स्तरोन्नतिको माग राख्नुभएको छ । शुक्रबार संसदमा संबोधन गर्दै सांसद राईले भाउन्ने–आमतोला सडक ठेक्का लाग्ने प्रकृयामा पुगेर पनि के कारण अवरुद्ध भएको हो भनि प्रश्न गर्नुभएको हो ।

०७५÷०७६ मा प्रदेश सरकारले ५ करोड रकम छुट्याए पनि ठेक्का लाग्ने प्रकृयामा जाँदा जाँदै ठेक्का नलागेको र पछि कोभिडको बहाना बनाएर त्यत्तिकै हराएको उहाँले गुनासो गर्नुभयो । मध्य मोरङको ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रको बिकासका लागि अत्यन्तै महत्पुर्ण सडकको स्तरोन्नति हुन नसक्दा स्थानीयले कष्ट भाग्नुपरेको बताउदै उहाँले संघिय सरकारसँग समन्वय गरेर भएपनि प्रदेश सरकारले बहुबर्षीया योजना बनाएर ठेक्का लगाउनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बेलबारी नगरपालिकाको गौरवको आयोजना मध्ये उक्त सडक पनि एक हो । कृषि सडकका रुपमा समेत लिने गरिएको भाउन्ने आमतोला सडक खण्ड कालोपत्रे बन्दा कृषि उपजको ब्यापार भारत सम्म पुग्ने स्थानीयको भनाइ रहेको छ । ’करिब २७ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड बेलबारी खण्डमा मात्रै १३ किलोमिटर पर्छ । सडककमा खाल्डाखुल्डी तथा धुलोको कारण त्यस क्षेत्रका स्थानीयलाई समस्या पर्ने गरेको छ ।