बेलबारी क्याम्पस प्रमुख नियुक्ती विरुद्ध नेविसंघले दियो अख्तियारमा उजुरी


बेलबारी बहुमुखी क्याम्पसमा विद्यमान नियम,कानुन,विधान विपरित क्याम्पस प्रमुख नियुक्ती गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले अख्तियारमा उजुरी दिएको छ । नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाई समितिले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको हो । नेविसंघले इमेल मार्फत र इटहरी स्थित अख्तियारको कार्यालयमै गएरपनि उजुरीपत्र बुझाएको नेविसंघ क्याम्पस इकाईका सियोम सुवेदीले बताए ।
बेलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिले बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा र जिम्मेवारी पाउने गरी गत साउन ४ गते क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
दुईवटा कार्यालय वा शाखाको प्रमुख पदमा एउटै व्यक्तिलाई गैरकानुनी ढङ्गले दोहोरो सुविधा हुनेगरी नियुक्त गर्नु नेपालका प्रचलित ऐन, नियम, कानुन, निर्देशन, निर्देशिका, कार्यविधि, परिपत्र र अभ्यासको विपरित हुने र सो कार्य प्रचलित कानुनको बर्खिलाप हुने भन्दै नेविसंघले क्याम्पस प्रमुख नियुक्ती विरुद्ध उजुरी दिएको बताएको छ । नियम विपरित दोहोरो जिम्मेवारी र सुविधा पाउने गरी कोइरालालाई क्याम्पस प्रमुख नियुक्त गरिएको विषयबारे आधिकारिक संस्था,व्यक्ति उपर छानविन गरी आवश्यक कानुनी कारवाही अघि बढाउन नेविसंघले अख्तियारमा निवेदन दिएको हो ।
‘दोहोरो सुविधा हुनेगरी प्रमुख नियुक्त गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा पदाधिकारीहरू, दोहोरो सुविधा लिने गरी नियुक्त भएका बेलबारी शिक्षा शाखाका अधिकृत (दशौँ तह) भुपेन्द्रप्रसाद कोइराला, नियुक्तिको सिफारिस गर्ने वा अनुमति दिने बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीप शाह र नियुक्तिको सुविधाबाट बञ्चित रहेका क्याम्पसमा कार्यरत शिक्षक तथा प्राध्यापक सङ्घका अध्यक्ष गणेश भट्टराई समेतलाई पत्राचार गरी वा हाजिर गराई आवश्यक सोधपुछ, छानविन, जाँचपडताल र खोजअनुसन्धान गरी नियमानुसार भए नभएको पत्ता लगाइ वा सम्बन्धित व्यक्तिहरु सँग समेत सोधपुछ वा आवश्यक स्पष्टिकरण लिई निजको नियुक्ति र दोहोरो सेवा सुविधा गैरकानुनी भएमा कानुनी कारवाहि गरिपाउँ भनी यो उजुरी निवेदन पेश गर्दछौँ ।’ उजुरी निवेदनमा भनिएको छ ।
क्याम्पस इकाईका कार्यवाहक सभापति सुजन अधिकारीको हस्ताक्षर रहेको उजुरीपत्रमा खोजविन तथा अनुसन्धान गरिनुपर्ने १३ वटा आधारहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ । क्याम्पस प्रमुखमा कोइरालाको नियुक्ती निजामति सेवा ऐन २०४९, त्रिभुवन विश्वविद्यालय ऐन २०४९, त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सम्बन्धि नियम २०५० ,नेपालको संीवधान २०७२,बेलबारी बहुमुखी क्याम्पस सञ्चालन विधान २०६५ को व्यवस्थाको समेत विपरित रहेकाले आवश्यक छानविन गर्न नेविसंघको आग्रह रहेको छ ।
क्याम्पस सञ्चालक समितिले कोइरालालाई प्रमुख नियुक्त गर्ने निर्णय गरेसँगै नेविसंघले त्यसको विरोध गरिरहेको छ । आन्दोलनमा रहेको नेविसंघसँग क्याम्पस सञ्चालक समितिले वार्ता गरेपनि विनानिष्कर्ष टुंगिएको थियो ।