मनाङका सबै नागरिकले लगाए कोरोना बिरुद्धको खोप

मनाङ जिल्लामा सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन । जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका हुन ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए ।
मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।
स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो ।

अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको आचार्यले बताए ।
जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।