वडा कार्यालयबाट सामान चोरी गर्ने २ जना पक्राउ

धरान उपमहानगरपालिका–१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन् ।
उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायतका औषधि, माक्स, पिपिई सेट शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले साहले चलाई ल्याएको प्रदेश १–०२–००३ ह ३७८ नम्बरको टेम्पोलाई जाँच गर्दा चोरी भएका सामानमध्ये १ थान सिपियु, १ थान मोनिटर, माउस, मल्टी बोर्ड सहित फेला पारी चोरी कार्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।