शेयर बजार ओरालै दिशामा

विराटचोकः बिहीबारको भन्दा कारोबार रकम बढे पनि आइतबार शेयर बजार सूचक भने तल झरेको छ ।

नेप्से सूचक आइतबार ४ दशमलव ५९ अङ्कले घटेर १ हजार १ सय ३१ दशमलव ३६ बिन्दुमा आइपुगेको छ । १ सय ६३ कम्पनीको ३५ करोड ५१ लाख ५९ हजार ७ सय ६८ रुपैयाँको शेयर कारोबार भएको छ । ११ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा व्यापार र अन्य गरी २ ओटा समूहका सूचक बढेका छन् ।

१० प्रतिशतले शेयरमूल्य घटेको शिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोड ४ लाख ३४ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र एनएमबि बैंक परेका छन् । एनआईसी एशियाको ३ करोड ९३ लाख र एनएमबीको ३ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

घटेको बजारमा आज पनि साल्ट ट्रेडिङको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सो कम्पनीको जम्मा ५० कित्तामात्रै कारोबार भएको छ । घोडीघोडा लघुवित्त र पाँचथर पावरको शेयरमूल्य पनि १० प्रतिशतकै दरले बढेको छ ।

शिवम् सिमेन्टपछि सबैभन्दा धेरै शेयरमूल्य ओरियन्टल होटलको घटेको छ । सो कम्पनीको ६ दशमलव ३६ र गुडविल फाइनान्सको ५ दशमलव ७६ प्रतिशतले शेयरमूल्य तल झरेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ३५ अर्ब कायम भएको छ ।