बोयर काण्ड : ४० लाख तिर्न नसकेर ईञ्जिनियर सुदीप चौधरी बेपत्ता

मोरङ जिल्लाको बेलबारी नगरपालिकाले खरिद गरेको बोका बाख्रा प्रकरणका दिनदिनै नयाँ घटनाहरू बाहिर आइरहेका छन् ।
बोका बाख्रा खरिदमा अनियमितता र भ्रष्टाचार भएपछि नगरपालिकाले नै छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । १ करोड २४ लाखको ठेक्का मिलोमतोमा निकालेर घोटाला गरेको आरोप छ ।

घोटाला भएको भन्दै विरोध भएपछि नगरपालिकाले दवाव खेप्न नसकेर छानविन समिति बनाएको हो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले पनि अनुसन्धान गरिरहेको छ ।
बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रदीप शाह बोका प्रकरणमा फस्दै गएका छन् । ग्रो आर्गानिक अर्थात ठेकेदार कम्पनीका तर्फबाट उधारोमा बोका बाख्रा खरिद गरेर ल्याएका सुदीप चौधरी पनि नारम्रोसँग फस्दै गएका छन् । चौधरीले जेठ २१ गतेभित्र ४० लाख रुपियाँ दिन्छु भनेर बाचा गरेका थिए । अहिलेसम्म उनले पैसा दिएका छैनन् ।

पेशाले ईञ्जिनियर रहेका चौधरीले बोका बाख्रा उधारोमा किनेको ४० लाख रुपियाँ तिरेका छैनन् । पैसा तिर्ने दवाव परेपछि चौधरी फरार भएको आरोप छ । चौधरी सम्पर्क विहीन भएको भन्दै बोका बाख्राधनी लक्ष्मी शर्माले प्रहरीमा उजुर गर्ने तयारी गरेकी छिन् ।
बोका बाख्रा प्रकरण र ४० लाख रुपियाँका बारेमा प्रतिक्रिया लिन ईञ्जिनियर चौधरीसँग सम्पर्क गर्दा सम्पर्कमा आउन मानेनन् । उनलाई चार÷पाँच पटकसम्म फोन गर्नुका साथै मोबाइल नम्बरमा म्यासेज गर्दा समेत सम्पर्कमा आएनन् । ललितपुरमा घर रहेका ईञ्जिनियर चौधरीले ४० लाख रुपियाँ माग्दा पीडितलाई उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको नाम लिएर ‘जे गर्न मन लाग्छ त्यही गर, मलाई बलदेव चौधरीको साथ छ’ भनेर धम्काउने गरेको आरोप छ ।

ईञ्जिनियर चौधरीका आफन्त पर्ने एवम् उनकै कम्पनीका कर्मचारी गोविन्द रायलाई ग्रो आर्गानिकको काल्पनिक प्रतिनिधि बनाएका छन् । रायलाई दिइएको पत्रमा आफ्नो मोबाइल नम्बर ईञ्जिनियर चौधरीले राखेका छन् ।
उता, मेयर बलदेवले आफूले कसैलाई पनि धम्की नदिएको बताएका छन् । मेयर बलदेव पनि बोका बाख्रा काण्डमा मुछिएका छन् । विजय तामाङले छानविन समिति समक्ष दिएको लिखत बयानमा त्रियुगा नगरपालिकाका मेयर बलदेव पनि संलग्न रहेको आरोप छ । तर, बलदेवले बयानमा रहेको आरोप झुठा रहेको भन्दै मुद्दा मामिलामा जाने चेतावनी दिएका छन् ।

समिति समक्ष बयान दिएका तामाङलाई ललितपुरमा कुटपिट पनि भएको छ । प्राप्त तामाङको तस्बिरमा कुटपिट भएको र हातखुट्टामा पट्टि लगाएको देखिएको छ । पीडित तामाङले बोका बाख्राको ४० लाख रुपियाँ माग्दा आफूले कटाइ खानु परेको बताएका छन् । तामाङले आफूलाई कुट्ने मान्छेलाई नचिनेको बताएका छन् ।

साभारः दैनिक नेपाल डट कमबाट




Leave a Reply

Your email address will not be published.