बेलबारी नगरपालिकाले कार्यान्वयनमा ल्याउनलाई पहिलो पटक निर्माण गरिएको स्थानिय पाठ्यक्रम पुर्णतः ‘कपी पेस्ट’ मा आधारित रहेको पाइएको छ । शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला संयोजकत्वको पाठ्यक्रम निर्माण कार्यदलले बेलबारीको स्थानिय पाठ्यक्रम निर्माण गर्दा चितवनस्थित भरतपुर महानगरपालिकाको स्थानिय पाठ्यक्रमको ‘कपी पेस्ट’ अर्थात लगभग जस्ताको त्यस्तै सार्ने काम गरेको देखिएको हो । स्मरिणय छ, बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ मा स्थानिय विषयको पाठ्यक्रम निर्माणका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । पाठ्यक्रम निर्माणका लागि बेलबारी नगरपालिकाका उपसचिव भुपेन्द्र कोइराला संयोजकत्वको ९ सदस्यिय कार्यदल बनेको थियो । कार्यदलमा १ जना शाखा अधिकृत, ५ जना प्राधानाध्यापक र २ जना शिक्षक सहभागी थिए । यतिको बजेटमा उच्च विज्ञता सहितका जनशक्ति सम्मिलित कार्यदलले गरेको काम भने एकजना ‘कम्प्युटर अपरेटर’ले केही क्षणमा गर्नसक्ने काम जतिको पनि देखिदैन् ।भरतपुरको पाठ्यक्रमको कम्प्युटर कपी मगाएर केही शब्द परिवर्तन गर्दा ४ हजार रुपैयाँ पनि खर्च हुने देखिँदैन् ।
बेलबारी नगरपालिकाले तयार गरेको ‘आधारभुत तह(कक्षा १–८) स्थानीय विषयको पाठ्यक्रम २०७७’ पुस्तक चितवन जिल्लाको भरतपुर महानगरपालिकाले तयार गरेको ‘हाम्रो गौरब,हाम्रो भरतपुर, स्थानीय पाठ्यव्रmम, आधारभूत तह २०७६’ को ‘आद्योपान्त प्रतिलिपित’ दस्तावेजको रुपमा तयार भएको छ । पुस्तकको प्राक्कथन हेर्दा निकै मेहनत गरिएको भान हुन्छ । तर, ती २ पुस्तक भिडाएर हेर्दा निर्लज्ज कपी जस्तो देखिन्छ । चितवनको ठाउँमा मोरङ,भरतपुरको ठाउँमा बेलबारी,महानगरपालिकाको ठाउँमा नगरपालिका जस्ता शब्द राख्न निकै नै मेहनत गरिएको देखिन्छ । कठिन मेहनतका बावजुद पनि केही केह िठाउँमा महानगरपालिका शव्दहरु दोहोरिएका छन् । अझै कार्यदलले तयार गरेको प्रारम्भिक मस्यौदाको पृष्ठ ५०,५९ र ६३ मा त भरतपुर शब्द नै दोहोरिएका छन्,यसले पनि कपी भएको पुष्टि हुन्छ भने,यो पाठ्यक्रमको मस्यौदा निर्माणमा कुनै सिर्जनशिलता,मेहनत र गम्भीरता जस्ता विषयलाई पटक्कै अवलम्बन नगरिएको पुष्टि हुन्छ ।
स्थानिय पाठ्यक्रम निर्माण गर्दा स्थानिय आवश्यकता,स्थानिय पहिचान तथा संस्कृति,भौगोलिकता,ज्ञान,सिप र शैली जस्ता कुराहरुलाई आधार मान्नुपर्ने कुरा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा स्पष्ट उल्लेख छ । बेलबारी नगरपालिकाले तयार गरेको स्थानिय पाठ्यक्रम पुस्तकको ‘प्राक्कथन’ मा समेत पाठ्यक्रम निर्माण गर्दा अपनाइएको शैली र प्रकृया उस्तै गरी बडो सुन्दर ढंगले उल्लेख गरिएको छ । तर,काममा भने अत्यन्तै अल्छी र यस्तो महत्वपुर्ण कार्यमा नक्कलको पराकाष्ठा नै देखिन्छ । बेलबारी नगरपालिकाको ‘स्थानिय पाठ्क्रम’पुस्तकको ‘भागःएक,स्थानिय पाठ्यक्रमको अवधारणा’ शिर्षक खण्डको सुरुदेखि अन्त्यसम्म अर्थात पृष्ठ २ देखि १० सम्म एक अक्षरपनि फरक पर्दैन् । केही फरक बुँदा नम्बर ४ मा देखिन्छ । बुँदा नम्बर ४ मा ‘स्थानिय पाठ्यक्रम निर्माण प्रक्रिया’उपशिर्षक रहेको छ । सो अन्तर्गतको अनुच्छेद सुरुवाती,मध्य,तथा अन्त्य भाग पनि सबै मिल्छ न् । नगरपालिकाको नाम,शाखाको नाम लगायत फेर्नेपर्ने शब्दहरुमात्रै फेरिएको छ ।
बेलबारीको प्रारम्भिक मस्यौदा पुस्तकमा ‘भाग २’ खण्डमा ‘हाम्रो गौरब, हाम्रो भरतपुर’को नक्कल गरेर हाम्रो गौरब,हाम्रो बेलबारी उल्लेख गरिएको छ । अन्तिम पुस्तकको रुपमा तयार हुँदा हाम्रो गौरब हटाएर हाम्रो बेलबारी मात्रै राखिएको छ । अन्य स्थानमा जिल्लाको ठाउँमा मोरङ र भरतपुर महानगरपालिकाको ठाउँमा बेलबारी नगरपालिका मात्रै राखिएको छ । परिचय खण्डमा आफ्नो बेलबारीको मौलिकता र पाठ्यक्रमकै मौलिकता झल्काउन सक्ने विषय समेट्न सकिने ठाउँमा समेत भरतपुरको पाठ्यक्रमको सोही अंश हुबहु सानुमा निर्लज्जताको पारकाष्ठा नै देखिन्छ । कक्षागत सिकाई उपलब्धीका उल्लेखित बुँदा संख्या,बुँदाका वाक्यहरु हुबहु छन् भने क्रम पनि कुनै तलमाथी छैन् । विषयवस्तुको क्षेत्र,तीनीहरुको क्रम,विशिष्ट उद्देश्य,विषयवस्तुतको विस्तृतीकरण,शैक्षिक सामग्री लगायत सबै हुबहु छन् । बेलबारीको इतिहाँस,संस्कृति र कला अन्तर्गत विषयवस्तुतको विस्तृतीकरणमा बेलबारीका ऐतिहाँसिक व्यक्तित्वहरु भन्ने विषय थप गरिएको छ । उता बेलबारीको प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण अन्तर्गत कक्षा ७ को विषय विस्तृतिकरणमा रामसार क्षेत्रको व्यवस्थापन (विस हजारी ताल) उल्लेख छ । तर,अहिलेसम्म मोरङ जिल्लामै रामसार क्षेत्र सुचीकृत स्थल छैन् । पाठ्क्रममा उल्लेखित बिसहजारी ताल चितवन जिल्लाको भरतपुर महानगरपालिकामा पर्दछ । बेलबारीको बेतना सिमसार रामसार सुचीकृत हैन् ।
स्थानिय पाठ्यक्रमको अवधारणा र मर्म अनुसार काम गर्ने हो भने राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तुहरु यसमा समेटिनुपर्ने हो । स्थानिय मौलिकता,स्थानिय विशिष्ठता तथा पहिचान,स्थानिय कला,जीवनशैली,भौगोलिक विशष्ठता जस्ता विषयहरु स्थानिय पाठ्यक्रममा समेटिनु आवश्यक हुन्छ । यस्तै विषयहरु समेट्नेनगरी पाठ्यक्रम तयार गर्न सकियोस भनेर नै विज्ञहरु सम्मिलित कार्यदलनै गठन गरेर बजेट नै छुट्याएर काम गर्नुपरेको हो । तर, कुनै पनि पालिकाले तयार गरेको पाठ्यक्रम जस्ताको त्यस्तै सार्नुले पाठ्यक्रममा बेलबारीको मौलिकता नभेटिने मात्रै हैन विज्ञ सम्मिलित कार्यदलको प्रतिष्ठा नै मेटिने अवस्था आउनसक्छ । पाठ्यक्रम कपी गरेको कार्यदलले सो पाठ्यक्रम निर्माण गर्दा अपनाइएको विधी भने पटक्कै पछ्याएको देखिँदैन् ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार स्थानिय पाठ्यक्रम निर्माण गर्नुभन्दा अघि यस विषयमा स्थानिय सरोकारवालाहरुसँग पर्याप्त र व्यापक रुपमा छलफल र परामर्स गर्नुर्दछ । यसरी परामर्सबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार पारिनुपर्दछ । त्यसरी तयार भएको मस्यौदामा पुन सल्लाह सुझाव लिएर आवश्यक परिमार्जन गर्न सकिन्छ । पाठ्यक्रम विकास केन्द्रबाट प्राविधिक सहयोग वा अन्य विज्ञहरुसँग अझै परामर्स गरीकन पाठ्यक्रमलाई सकेसम्म उत्कृष्ट बनाउन सकिन्छ । यी प्रकृयाहरु पुरा गर्दै अहिले धरान उपमहानगरपालिका र मेचीनगर नगरपालिकाले पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रमको मस्यौदा पठाएर आवश्यक सल्लाह सुझाव माग गरेको पनि निर्देशक भट्टराईले जानकारी दिएका छन् ।
यता बेलबारी नगरपालिकाको शिक्षा शाखाले पनि मस्यौदा तयार गरेर सुझावहरु मागेपनि धेरै सुझावहरु प्राप्त हुननसकेकोले मस्यौदा अनुसार पाठ्यक्रमलाई अन्तिम रुप दिएको दावी गरेको छ ।