निजामति वा बेलबारी क्याम्पस प्रमुख मध्ये १ पद छोड्न कोइरालालाई नेविसंघका ६ वटा समितिको चेतावनी


नेपाल विद्यार्थी संघका विभिन्न ६ वटा समितिले बेलबारी बहुमुखी क्याम्पसका नव नियुक्त प्रमुखलाई निजामति कर्मचारी वा क्याम्पस प्रमुख मध्ये एउटा पद त्याग्न चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ३ मोरङ, नगर समिति बेलबारी सहित मोरङका ४ वटा क्याम्पस इकाई समितिले समेत मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै भर्खरै क्याम्पस प्रमुख नियुक्त भएका भुपेन्द्र कोइरालालाई त्यस्तो चेतावनी दिएका हुन् । बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख कोइरालालाई निजामति कर्मचारी ऐन र शिक्षा ऐन समेतको विपरित हुने गरी क्याम्पस प्रमुख नियुक्त गरेर जानीबुझी बेलबारी क्याम्पसलाई विवादमा ल्याइएको उनीहरुको दावी छ ।
ऐन नियम विपरित हुँदाहुँदै पनि क्याम्पसको गरिमामा आँच आउने गरी सञ्चालक समितिले एमाले समर्थित भएकैकारण कोइरालालाई नियुक्त गरेको पनि नेविसंघका विभिन्न ६ वटा समितिको दावी छ । क्याम्पसमा लामो समयदेखि प्राध्यापन गर्दै आएका प्राध्यापकहरुमा समेत आँच आउनेगरी भएको यो निर्णयबारे कोइरालाले नियम कानुन बुझ्दा बुझ्दै पनि बुझ पचाएको हो वा हेपाहा प्रवृत्ति गरेको हो भनी उनीहरुले प्रश्न समेत गरेका छन् ।
कुनै दल वा व्यक्ति विशेष भएर विरोध गरेको नभै दोहोरो सुविधा पाउने गरी नियुक्त गरिएकोमा विरोध गरिएको भन्दै नेविसंघका ति समितिहरुले यो निर्णय नसच्चिए जस्तोसुकै आन्दोलन गर्न र जुनसुकै निकायसम्म पुग्न तयार रहेको समेत स्पष्ट गरेका छन् ।
कोइरालाले क्याम्पस प्रमुख वा निजामति कर्मचारी एउटा पद नछोडे त्यसविरुद्धको संघर्षबाट हुने क्षतिको जिम्मेवार क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रसासन स्वयं हुने समेत उनीहरुले विज्ञप्तीा उल्लेख गरेका छन् ।
संयुक्त विज्ञप्तीमा नेविसंघ मोरङ क्षेत्रनम्बर ३ का कार्यवाहाक सभापति रोसन पराजुली, बेलबारी नगर समितिका उपसभापति किशोर गौतम,बेलबारी बहुमखी क्याम्पस इकाई समितिका कार्यवाहाक सभापति सुजन अधिकारी,सुकुना वहुमुखी क्याम्पस ईकाई सभापति विजय तोलाङ्गी,पथरी वहुमुखी क्याम्पस इकाई सभापति नवराज तुम्वापो र रमाइलो वहुमुखी क्याम्पस इकाई सभापति दिनेश वुढाथोकीले हस्ताक्षर गरेका छन् ।
बेलबारी ३ स्थित बेलबारी वहुमुखी क्याम्पस सञ्चालक समितिले गत साउन ४ गते बेलबारी नगरपालिकाका बहालवाला कर्मचारी कोइरालालाई क्याम्पस प्रमुख नियुक्त गरेको भन्दै नेविसंघले त्यसविरुद्ध निरन्तर विरोध जनाइरहेको छ । बेलबारी नगरपालिकाका नगरप्रमुख समेत रहेका ज्ञानेन्द्र सुवेदी क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन् भने क्याम्पस सञ्चालक समितिमा नेविसंघकै मातृपार्टी नेपाली कांग्रेसका ३ जना प्रतिनिधि सदस्य समेत रहेका छन् ।