इराकको राजधानी बगदादमा बम बिस्फोट, कम्तीमा २५ को मृत्यु

इराकमा बम बिस्फोट हुँदा कम्तिमा २५ जनाको ज्यान गएको छ । इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।
यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए ।
यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो ।
हमलाको जिम्मेवारी इस्लामी आतंकी संगठन इस्लामिक स्टेट समूह (आइएस) ले लिएको छ । आइएसले आफ्नै एक सदस्यले बिस्फोट गराउने डिभाइस उडाएको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सको स्रोतले बताए अनुसार बिस्फोटमा मारिनेमा महिला र बालबालिका पनि समावेश थिए । बिस्फोटपछि केही पसलमा आगलागी पनि गरिएको थियो ।
इराकी सेनाका एक प्रवक्ताले दिएको जानकारी अनुसार मुस्तफा अल–कदीमीले बजारको सुरक्षाका लागि जिम्मेवार प्रहरी इन्चार्जको गिरफ्तारीको आदेश दिएका छन् र घटनाबारे अनुसन्धान सुरु भइसकेको छ ।