काँग्रेस महाधिवेशन : ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप

काठमाडौं । नेपाली कांग्रेसले डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको हो ।
१४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ ।
विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार रहेको बताए ।
विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिए । ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको हो’ उनले भने ।
सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ ।
‘प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ,’ विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुँदैछ ।