तल्लो संरचनामा २ तहको मात्रै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले तल्लो संरचनामा २ तहको मात्रै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।
केन्द्रीय महाधिवेशनको समय नजिकिएकाले समयाभाव हुने कारण देखाउँदै तल्लो संरचनामा दुई तहको मात्रै अधिवेशन गर्न लागिएको हो ।
तल्लो तहमा वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन गर्ने तयारी भएको एक नेताले जानकारी दिए । केन्द्रीय महाधिवेशन समयमा गर्न समयाभाव रहेकाले तल्लो तहको अधिवेशन छोट्याउन लागिएको उनको भनाइ छ ।
वडा, गाउँ÷नगर, क्षेत्रीय, प्रतिनिधि सभा र प्रदेश संरचनाका लागि अधिवेशन हुनुपर्ने विधानको व्यवस्था छ ।
तर, समयाभाव भन्दै गाउँ÷नगर, क्षेत्रीय र प्रदेश अधिवेशन नगरी महाधिवेशन गर्ने तयारी भएको छ ।
तल्लो तहको अधिवेशनको प्रक्रिया लामो हुँदा केन्द्रीय महाधिवेशन प्रभावित हुने जनाउँदै छोट्याउन लागिएको ती नेताको भनाइ छ । कांग्रेसको पछिल्लो तयारीले संघीय संरचनाको नयाँ कार्यसमितिका रुपमा गठन हुने प्रदेश समिति नबन्ने भएको छ ।
पूर्व निर्णयअनुसार साउन १२ गतेदेखि तल्लो तहको अधिवेशन हुने कार्यतालिका थियो । उक्त कार्यतालिका प्रभावित हुने भएपछि तल्लो संरचनाको अधिवेशनको मिति पर सार्ने निर्णय पार्टीले गरेको छ । पर सार्ने निर्णय भएपनि कहिलेबाट अधिवेशन सुरु गर्ने बारे यकिन भएको छैन ।
तल्लो तहको अधिवेशन एक साता पर सार्ने तयारी रहेको भनिएपनि भदौ अघि हुन नसक्ने एक नेताले बताए । वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन भदौ पहिलो साता गर्ने गरी तयारी भएको ती नेताले बताए ।
तल्लो तहको अधिवेशन नै भदौमा पुगेपछि दुई तहको सकेर केन्द्रको गर्ने सोचमा नेताहरु पुगेका छन् । असार मसान्तसम्म क्रियाशील सदस्यता छानबिन सक्ने भनिएको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य हालसम्म सकेको छैन ।
दुई जिल्लाको विवाद केन्द्रमा पठाउने समितिले निर्णय गरेको छ । सतहमा दुई जिल्लाको विवाद मात्रै भनिएपनि दर्जन बढी जिल्लामा समस्या रहेको बताइएको छ ।
छानबिन समितिले विवाद टुंग्याउन अन्तिम कसरत गरिरहेकै बेलामा जिल्लाबाट विवाद लिएर समितिको कार्यालयमा दर्जनौं नेता÷कार्यकर्ता धाइरहेका छन् । केन्द्रीय महाधिवेशनको समय भदौ १६ देखि १९ सम्मलाई तोकिएको छ ।