वडाध्यक्ष खैरो हिरोइनसहित पक्राउ

पर्सामा एक वडा अध्यक्ष खैरो हिरोइनसहित पक्राउ परेका छन । पकाहामैनपुर गाउँपालिका– १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका हुन ।
प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए ।
प्रहरीले खैरो हिरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागू औषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ ।