बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ७० वर्षका गोरे थापाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले जानकारी दिनुभयो ।
भैँसी चराउन गएपछि हराइरहेका गोरे थापालाई निकुञ्जका हात्तीको सहयोगमा खोजी गर्दा शिवपुर फाँट नजिकै ओराही खोला किनारमा शव भेटिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको ज्यान गएको छ । यो आर्थिक वर्षसहित दुई वर्ष बर्दियामा पाटेबाघबाट २२ र जंगली हात्तीबाट २ गरि २४ जनाले ज्यान गुमाइसकेका छन् ।
अहिलेसम्म मान्छेलाई आक्रमण गर्ने चारवटा पाटेबाघलाई बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । बर्दियामा पाटेबाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेकोले निकुञ्ज र डिभिजन वन कार्यालयले मानव वन्यजन्तुुबीच द्वन्द्व न्यूनीकरण गर्ने र मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने प्रयास गरिरहेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो । तर बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनका सामुदायिक वन क्षेत्रहरुमा मानिसहरूको प्रवेश गर्ने क्रम नघट्दा पाटेबाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।