५ गते सम्म मनसुन थप सक्रिय

आजबाट साउन ५ गते सम्म मनसुन थप सक्रिय हुने भएको छ । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
आज विशेषगरी प्रदेश–१ सहित सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–२ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश– १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । यसैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
यस्तै नारायणी र कोशीका सहायक नदीहरु, कालीगण्डकी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशी, अरुण, तमोर लगायतका नदीहरुमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेकाले आजदेखि तीन दिनसम्म नै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।