नेपाली सेना चार कमाण्डको संरचनामा

नेपाली सेनाको चार कमाण्ड हेडक्वार्टर पूर्णरुपमा सञ्चालनमा आएका छन् । नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७÷७८ कार्यान्वयनमा आएसँगै चार कमाण्ड हेडक्वार्टर पूर्णरुपमा सञ्चालनमा आएका हुन ।
नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७÷७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनःसंरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठनिक पुनः संरचना २०७७÷७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पारिएको हो । साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेडक्वार्टर हिजोबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आउँदो ६ वर्षमा पूरा हुने बताइएको छ ।