कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन निर्देशिका, अरु पार्टीबाट आएकाहरुको समायोजन र क्रियाशील सदस्यताबारे छलफल भएको छ । निर्वाचन निर्देशनलाई अन्तिम रुप दिने जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाललाई दिइएको छ ।
क्रियाशील सदस्यताको सूचीमा सभापतिले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने म्याद गुज्रिसकेको छ । तर क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार बारा र सप्तरीको क्रियाशील सदस्यता टुंगिएको छैन भने अरु पार्टीबाट आएकाहरुको समायोजनमा पनि विवाद छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्ने छ । क्रियाशील र समायोजन विवादका कारण वडा तथा गाउँ नगर अधिवेशनको मिति हेरफेर हुनसक्ने नेताहरुले बताएका छन् ।
तर भदौ १६ देखि १९ गतेका लागि तय भएको केन्द्रीय महाधिवेशन भने नसर्ने नेताहरुले बताएका छन् ।