देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो ।
ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’
दुवै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले २७ असारमा गरेको १०बुँदे सहमतिको छैटौं बुँदामा ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अघि बढ्ने छौं,’ भनिएको छ ।