देशभर २ हजार ९ सय ३६ कोरोना संक्रमित थपिए

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएकोसहित ४३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ ।
अहिले नेपालमा २६ हजार आठ सय २७ जना सक्रिय सङ्क्रमित छन् ।