बोयर काण्डका ठेकेदार बिच्किँदा बेलबारीमा आउने १५ करोडको मेडीकल सामग्री रोकियो


बेलबारी नगरपालिकाले मापदण्ड विपरित बोयर सप्लाई गर्नेविरुद्ध ढिलै भएपनि एक्सन लिन थालेपछि विच्किएका ठेकेदारहरुले एकपछि अर्को गर्दै नगरपालिकालाई नोक्सान हुने निर्णयहरु वाहिर ल्याउन थालेका छन् । उनीहरुको यस्तो जवाफी कदमले बेलबारी नगरपालिकाको प्रतिष्ठामा असर परेको छ भने आउने अपेक्षा गरिएका महत्वपुर्ण भौतिक सामग्रीहरु पनि रोकिएका छन् । बोयर काण्डकै बाईप्रोडक्ट घटनाको रुपमा क्यानडामा दर्ता भएको स्काई ब्लु टेक्नोलोजी नेटवर्क लिमिटेडले नगरलाई महत्वपुर्ण मेडिकल सामग्रीहरु दिने सम्झौता भंग गरेको छ । बोयर खरिद प्रकृयामा ठेकेदार तर्फका महत्वपुर्ण व्यक्तिहरु नै स्काई ब्लु लगायत संस्थामा पनि संलग्न रहेका छन् ।
बेलबारीमा सञ्चालन हुने सामुदायिक अस्पतालका लागि १५ करोड रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री अनुदानमा दिने भनेको क्यानडा स्थित स्काई ब्लु टेक्लोलोजी नेटवर्कले सम्झौता भंग गरेको बताएको हो । एम आर आई,सिटिस्क्यान मेसिन,भेन्टिलेटर मेसिन,इन्डोस्कोपी मेसिन लगायत अनुदानमा उपलब्ध गराउने सम्झौता गरेको तर नगरपालिका विवादित बनेको लगायत कारण अब अनुदान उपलब्ध गराउन नसकिने भन्दै सो संस्थाले सम्झौता भंग गरेको पत्र नगरलाई पठाएको हो ।
स्काई ब्लुले बेलबारी नगरपालिका आफै विवादित बनेको, विभिन्न सञ्चार माध्यमहरुमा आएका नकारात्मक समाचारका कारण आफ्नो संस्थाको प्रतिष्ठा गिर्दै गएको, आफ्नो संस्थाका विषयमा गलत भनाईहरु सार्वजनिक भैरहेका जस्ता कारणले अब सम्झौता अनुसार स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन नसकिने उल्लेख गरेको छ । सो संस्थाका एक्ज्युकेटिभ डाइरेक्टरले हस्ताक्षर गरेको पत्रमा बेलबारी नगरपालिकासँग २०७७ मंसिर २५ गते (१० डिसेम्बर २०२०) मा भएको सम्झौता अनुसार का सामग्री अब अनुदानमा उपलब्ध गराउन नसकिने स्पष्ट गरेको छ ।


बेलबारी नगरपालिकाले पनि गत २०७७ मंसिर २५ गते स्काई ब्लु टेक्लोलोजी नेटवर्क लिमिटेडलाई सम्झौताका लागि आसयको पत्र पठाएको थियो । नगरपालिकाले लेखेको सो पत्रमा बेलबारीमा सामुदायिक अस्पताल बन्ने र त्यसको सुविधा विकासका लागि भन्दै अस्पतालका प्रयोग हुने सामग्रीहरु अनुदानमा प्रदान गर्न अनुरोध गरेको छ ।


नगरपालिकाको सो पत्रमा सिटि स्क्यान मेसिन ३ थान ,एम आर आई स्क्यान मेसिन ३ थान,भेन्टीलेटर मेसिन ३ थान,हेमोडाइलासिस मेसिन ३ थान,इको अल्ट्रासाउण्ड मेसिन ३ थान,कोलोनोस्कोपी मेसिन ३ थान र इण्डोस्कोपी मेसिन ३ थान अनुदानमा उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको भनेर सामग्रीको सुची उल्लेख गरिएको छ ।
स्काई ब्लुले नगरपालिकालाई दिने भनिएका ती २१ थान मेडिकल सामग्रीहरु १५ करोड रुपैयाँ बराबरको रहेको सो संस्थाको दावी छ । सम्झौता भंग भएको व्यहोराको पत्र बेलबारी नगरपालिका पठाइसकिएको र उपमेयर ढाका पराजुलीलाई मौखिक रुपमा पनि जानकारी गराएको स्काई ब्लुका एक प्रनितिधिले बताए । नगरपालिका र नगरवासीको हितकै निम्ति आफुले सहयोग गर्न खोजेपनि संस्थाको प्रष्ठिा गिराउनेगरीका प्रचारबाजी गरिएपछि सम्झौता भंग गर्न बाध्य भएको उनको भनाई । यहि असार महिनाभित्र ती सामग्रीहरु प्रदान गर्न तयारी अवस्था रहेको भएपनि अवस्था फेरिएसँगै अब ती सामग्रीहरु अन्य कुनै संस्थालाई वितरण गरिने पनि उनले दावी गरे ।
बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले पनि पत्र आएको भनेर मौखिक जानकारी आएको र पत्र हेरेपछि थप विषयबारे भन्न सकिने बताइन् ।
बेलबारी नगरपालिकाले ती मेडिकल सामग्रीहरु अनुदानमा माग गर्नेबारे कार्यपालिकामा कुनै जानकारी नदिइएको नगर कार्यपालिकाका एक सदस्यले बताए । वास्थ्य क्षेत्रको सेवा वृद्धि र विकासमा सहयोग पुग्ने खालका सामग्री प्राप्त गर्ने विषयमा कार्यपालिकामा पर्याप्त छलफल समेत नगरिएको र अहिले सामान पनि नआउने तथा नगरपालिकाको बदनाम हुने अवस्था आएको ति कार्यपालिका सदस्यले गुनासो गरे । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित यति महत्वपुर्ण विषय भएपनि स्वास्थ्य शाखालाई समेत मेडीकल सामग्री माग गर्ने विषयमा जानकारी नगराइएको एक कर्मचारीले बताए ।
बोयर काण्डले नगरपालिकासँग बिच्किएका व्यक्तिहरुको संलग्नता रहेको अर्को संस्था लिब्रा टेक्नोलोजी नेटवर्क समेत रहेको छ । ग्रो अर्गानिकको धरौटी जफत गरी बोयर खरिद सम्झौता नै भंग गरेपछि स्काई ब्लु मात्रै हैन् लिब्रा टेक्नोलोजी नेटवर्क पनि नगरपालिकासँग चिडिएको छ । यता नगरपालिकाले पनि चालु आर्थिक वर्ष २०७७।७८ को निति तथा कार्यक्रममा लिब्राको नामै उल्लेख गरेर सञ्चालन गर्ने एउटा महत्वकांक्षी कार्यक्रमबाट २०७८।७९ को निति कार्यक्रममा लिब्राको नामै हटाएको छ । २०७७।७८ को निति कार्यक्रममा लिब्रा टेक्नोलोजी प्रा.लि.सँग फोहोर प्रसोधन केन्द्र स्थापना गरी रिसाइक्लिङ प्लान्ट सञ्चालन गर्ने उल्लेख छ । तर आव ७८।७९ को निति कार्यक्रममा भने फोहोर प्रसोधन केन्द्र स्थापना गरी रिसाइक्लिङ प्लान्ट सञ्चालन गरिने भनिएको छ । संघ सरकारले अन्तर सरकारी वित्तिय व्यवस्थापन अन्तर्गत एकीकृत फोहोरमैला व्यवस्थ्थापन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ पठाइसकेको छ ।