केएमसीले यौनकर्मी, एचआइभी पिडित र अनाथहरुको निःशुल्क उपचार गर्ने

काठमाडौं मेडिकल कलेज (केएमसी) ले अब दशौं हजार यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको हो ।

घरेलु महिला हिंसा, यौन हिंसा, मानब बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीविच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि दशौं हज्जारौं यौनकर्मी, हजारौं एचआइभी पिडित तथा अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्योपचारको बाटो खुलेको हो ।

‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआइभी पिडित तथा सयौं अनाथहरुको निःशुल्क उपचार गर्नेछ ।’ यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने ।

सम्झौता अनुसार काठमाडौं मेडिकल कलेजले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ । केएमसीले औषधी वाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन् ।

आज आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पुर्याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पिडीत र अनाथ बालबालिकाको उपचारमा टेवा पुग्ने विस्वास लिएको बताए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुर्नस्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन् । राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विस्वास कोइरालाको छ ।

पछिल्लो समय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिला तथा बालबालिकाका क्षेत्रमा गरेको काम र समाजसेवी डा. सुनिल शर्माले सामाजिक कामसँगै मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कद गर्दै मदर टेरेसाको उदाहरणका रुपमा लिने गरेका छन् ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदैछ । भने, नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ ।

काठमाडौं मेडिकल कलेजले कोरोना विरुद्ध लड्न नेपाल सरकारसँगको सहकार्यमा निःशुल्क उपचारको व्यवस्था गरेको छ । यसका अलावा डा. शर्माको प्रवेशसँगै केएमसीमा ओपिडी सेवा समेत निःशुल्क गरिएको छ ।