केराबारी गाउँपालिकाको बजेट ८० करोड ८९ लाख:केराबारीमै सर्पदंस उपचार सेवा सुरु हुने


मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ८० करोड ८९ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विहिबार गाउँपालिकाको आठौ गाउँसभामा उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलले सो रकम बराबरको बजेट अनुमान पेस गर्नुभएको हो । कुल बजेट मध्ये ८ करोड ५० लाख चालु खर्च र ४२ करोड ४७ लाख पुँजीगत तर्फ खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले आफ्नो बजेटमा स्वास्थ्य,कृषि लगायतमा प्राथमिकता दिएको छ । गाउँपालिकाले विषालु सर्पको उच्च जोखिमलाई ध्यान दिदँै मानविय क्षति नहोस भनेर सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडानम्बर ६ मा सर्पदंश उपचार केन्द्र समेत निर्माण भैसकेको र स्वास्थ्य सेवा विभागबाट सबै प्रकृया पनि पुरा भैसेकाले सर्पदंश उपचार सेवा सुरु गरिने निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष भुजेलले जानकारी दिनुभएको छ ।यस्तै केराबारी पालिका अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम लागु गरी पालिका भित्रका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको दायरामा ल्याइने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
किसान परिचयपत्रको व्यवस्था गरी परिचयपत्रको आधारमा अनुदान लगायतको सुविधा प्रदान गरिने भएको छ । सुरक्षा व्यवस्था मजबुत बनाउन विभिन्न आवश्यक स्थानमा अस्थाई प्रहरी चौकीहरुको स्थापना गरिने,घरघरमा विद्युतसेवा पुर्याउन विद्युत विस्तार लगायत कार्यक्रमहरुलाई पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
गाउँपालिका अध्यक्ष रोहित कार्कीको अध्यतामा सञ्चालित गाउँसभामा केराबारी गाउँपालिकाको तथ्यांक तथा अभिलेख संकलन कार्यविधि विधेयक २०७८,संघ संस्था दर्ता सम्बन्धमा बनेको विधेयक २०७८ र केराबारी गाउँपालिकाको कर तथा गैरकर सम्बन्धी विधेयक २०७८ समेत प्रस्तुत भएको थियो ।