सुन्दरहरैचाले पत्रकारलाई पाँच लाखको दुर्घटना बिमा गर्दै २ अर्ब १५ करोड बजेट ल्यायो

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि सन्चारकर्मीहरुलाई पाँच लाख बराबरको दुर्घटना बिमा गर्दै आठौ नगरसभा सम्पन्न गरेको छ । बिराटचौकमा अवस्थित जेसिज भवनमा आयोजित नगरसभामा २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय बजेट उपमेयर धनमाया तामाङले आगामी आ.ब.को बजेट प्रस्तुत गरेकि हुन ।
नगरसभामा प्रस्तुत मुख्य योजना तथा कार्यक्रमहरुमा नगरका सबै वडामा सडक बत्ति जडान गर्ने, चार वटा सुबिधा सम्पन्न सबदाह स्थल निर्माण गर्ने, कोल्ड स्टोर निर्माण गर्ने, विश्वकै अग्लो गाईको प्रतिमालाई निरन्तरता दिने, सुकुना क्याम्पसमा एमफिल सन्चालन गर्ने, कर प्रणालीलाई इपेमेन्टमा लगिने, सलकपुरमा नगरपालिकाको सुविधासम्पन्न भवन निर्माण गर्ने, कक्षा ११ मा निशुल्क भर्नाको ब्यबस्था मिलाउने, ९० बर्ष माथिका जेष्ठ नागरिकलाई एक हजार भत्ता उपलब्ध गराउने, इन्दुपुर खेलमैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने, एक कृषक एक अनुदानको कार्यक्रम गरिने लगायतका रहेका छन ।
आर्थिक बर्ष २०७८÷०७९को बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने तामाङले बताइन् ।
सो बजेटमध्ये आन्तरिक स्रोत (चालु आर्थिक वर्षबाट आगामी आर्थिक वर्षमा अल्या हुने मौज्दात समेत) १६ करोड, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २२ करोड ९५ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुुमान गरिएको छ । संघीय तथा प्रदेश सरकारको राजश्व बाँडफाँड एवम् रजिष्ट्रेसन रोयल्टीबाट २२ करोड ४० लाख ७५ हजार ५ सय ७०, संघीय सरकारको सशर्त अनुदानबाट ३९ करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकार र प्रदेश सरकारको समपुरका अनुदानबाट ३ करोड ६८ लाख, लागत सहभागिताबाट १ करोड र अन्तर–सरकारी अख्तियारीबाट ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ । अन्य अनुदान (पर्यटन विकास, पूर्वाधार विकास, सडक बोर्ड) बाट ५ करोड ५ लाख तथा शहरी शासकीय सुधार कार्यक्रम वल्र्ड बैकबाट ७२ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरी बजेट प्रस्तुत गरिएको छ ।