बेलबारी नगरले ल्यायो एक अर्ब ३५ करोडको बजेट

१० असार, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख ढाका कुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेट चालु आ.व. को संशोधित बजेटको तुलनामा आगामी आ.व. को लागि २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशतले बढि हो ।
आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रतावित बजेट प्राप्तिका स्रोतहरुमा कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ । संघिय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रम मार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
प्रस्तुत कुल बजेटको विनियोजन प्रशासनिक खर्च र चालु कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पूँजिगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ । सामाजिक विकास कार्यक्रम तर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रम तर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रम तर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यबस्थापन तर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।
चालु आ.व.को जेष्ठ मसान्तसम्मको वजेट खर्च चालु तर्फ ६७ प्रतिशत र पूँजिगत तर्फ ३४ प्रतिशत गरी कुल बजेटको ५२ प्रतिशत खर्च भएको उपमेयर पराजुलीले बताइन ।