बेलबारी बोयर काण्डः एमालेले छानबिन समितिमा प्रतिनिधि नपठाउने

बोयर बोकापाठी खरिद विषयमा मोरङको बेलबारी नगरपालिकाले बनाएको छानविन समितिमा एमालेले प्रतिनिधि नपठाउने भएको छ । बोयर बोकापाठी खरिद विषयमा चौतर्फी प्रश्न उठेपछि नगरपालिकाले दलिय सहभागिता सहितको छानविन समिति बनाउने निर्णय गरेको थियो ।
उक्त समितिमा नेकपा एमाले बेलबारी नगर कमिटिले यसअघि नेता कृष्ण गुरुङलाई पठाएपनि सत्तारुढ दलका हिसाबले समितिमा रहनु उपयुक्त नहुने भन्दै प्रतिनिधि नपठाउने निर्णय गरेको हो ।
अध्यक्ष रविन थापाको निर्देशनमा कार्यलय सदस्य कृष्ण गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा सम्झौता अनुसार शुद्ध बोयर नभएको ठहर गरेरै नगरपालिकाले सम्झौता रद्द गरेर थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारीस गरिसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता भइसकेको, आयोगले छानबिन प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा आयोगलाई स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बातावरण प्रदान गर्न भन्दै छानबिन समितिमा पाटिको तर्फबाट प्रतिनिधि नपठाइएको उल्लेख छ ।
साथै बिज्ञप्तिमा आयोगसँग चाँडोभन्दा चाँडो सत्यतथ्य छानबिन गरी दोषीलाई अविलम्ब कानुनी दायराभित्र ल्याई कारबाही गर्न पनि माग गरिएको छ ।