बोयर काण्डका ठेकेदारकै हातमा बेलबारी नगरका ठुला योजना

बेलबारी नगरपालिकामा अष्ट्रेलियाबाट ल्याइएको भनी प्रचार गरिएका बोकापाठी नवलपरासीबाट ल्याईएको आयातकर्ता भनिएका श्याम पाण्डेले नै स्विकार गरेका छन् । बैकल्पिक उर्जासँग सम्बन्धित बस्तु आयात निर्यात लगायत व्यवसायमा संलग्न पाण्डेले बोकापाठी ल्याउँदा अरुकै कृषि फर्मको प्रयोग गरेको पनि खुलेको छ । ग्रो अर्गानिक कृषि फर्म हरी तामाङ लगायत व्यक्तिको रहेको पनि खुलेको छ । पाण्डेले यो खरिद प्रकृयामा आफ्नो ६५ लाख रुपैयाँ फसेको समेत बताएका छन् ।
बोयर बोकापाठी खरिद विषयमा नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि.का प्रतिनिधि भनिएका श्याम पाण्डेबिच आरोप प्रत्यारोपकै अवस्था समेत आएको छ । किसानलाई वितरण गर्न शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर बोकापाठी वितरण गर्ने भन्दै गलत ढंगले तोकिएको मापदण्ड विपरितका बोकापाठी नगरपालिकाले वितरण गरेपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि नगरपालिकाले विज्ञप्ती जारी गर्दै मापदण्ड पुष्टि नभए आयातकर्ता कम्पनीलाई कारवाही गर्ने बताएको थियो ।
कम्पनीका प्रतिनिधिका रुपमा नै अघि आएका पाण्डेले अष्ट्रेलियाबाटै ल्याएको र शतप्रतिशत बोयर बोकापाठी भएको पुष्टि हुने प्रमाण पेस गर्ने बताएका थिए । तर उनले त्यस अनुसार गर्न नसकेपछि अहिले फरक फरक जवाफ दिने र नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृतलाई नै दोष लाउन थालेका छन् । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले बोकापाठी आयातबारे भन्सार र पशु क्वारेन्टाइन कार्यालय लगायतमा सोधपुछ गरेपछि रुष्ट बनेका पाण्डेले अहिले आएपछि आफ्नो संलग्नता पुष्टि गर्न भन्दै चुनौती दिन थालेका छन् । उनले प्रमुख प्रसासकिय अधिकृत शाह नै कमिसनमा बिकेर यो काम गरेको आरोप समेत लगाएका छन् । पाण्डेले शाहलाई मानहानी मुद्दा हाल्न आफु कानुन व्यवसायीसँग परामर्शमा रहेको भन्दै धम्कीपुर्ण चेतावनी समेत दिएका छन् ।
यता प्रमुख प्रसासकिय अधिकृत शाहले भने पाण्डेले आफ्नो दावी पुष्टि गर्न नसकेको बताएका छन् । भन्सार,पशु क्वारेन्टाइन कार्यालयमा आफैले बुझ्दा पनि कुनै प्रमाण फेला नपरेको अवस्थामा कानुन अनुसार अघि बढ्ने शाहले स्पष्ट पारेका छन् ।
अष्ट्रेलियाबाट आउनुपर्ने बोयर नवलपरासीबाट कसरी आयो ?
नगरपालिका सँग सम्झौता भएपछि अष्ट्रेलियाबाट शतप्रतिशत बोयर जातका बोका पाठी ल्याउने जिम्मा ग्रो अर्गानिक कृषि प्रा.लि.ले पायो । विदेशबाट विभिन्न वस्तु आयातको अनुभव राम्रै भएका श्याम पाण्डे बोयर आयात गर्ने तयारीमा लागे । तर, अष्ट्रेलियाबाट आउनुपर्ने बोयर नवलपरासीबाट नै ल्याउने र अष्ट्रेलियाबाट ल्याएको भन्दिने चाँजोपाँजो मिलाइयो । नवलपरासीको केसर एग्रो फर्मबाट बोका पाठी ल्याउने योजना अनुसार काठमाण्डौबाट श्याम पाण्डे,बिजय तामाङ,बेलबारीका उत्तम गिरी सहित ४ जना रातो स्कोर्पियो गाडीमा नवलपरासी हिँडे । स्रोतका अनुसार रातो स्कोर्पियो गाडी विजय तामाङले चलाएका थिए । फर्ममा सञ्चालक सादत खाँनसँग भएको डिल अनुसार बोका र पाठी सहित ९२ वटा तयार थिए । बेलबारीसम्म बोयर ढुवानीका लागि फर्म नजिकै घर भएका व्यवसायी तेजबहादुर महतोको गाडी टुंगो भयो । महतोको ना ६ ख ५५५३ नम्बरको फुलबडी ट्रकमा बोकापाठी लोड गरियो । कृष्ण महतो र काशीराम भनिने चालक ढुवानीमा खटिए । आयात गर्ने कार्यमा ‘लिडिङ’ भुमिकामा रहेका श्याम पाण्डे स्वयं सँगै रहेपनि फर्ममा गएका मध्ये विजय तामाङलाई प्रतिनिधिका रुपमा अघि सारिएको र गाडीका कृष्ण महतोलाई पनि बिजयको नम्बर दिईएको कृष्ण महतोले बताए । पाण्डेसँगकै टिममा रहेका सुदिप चौधरी पनि वर्दिवासबाट गिरीको गाडी चढेर बेलबारी आएको चौधरीले बताए । बोकापाठी बेलबारी ल्याइसकेपछि नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह र श्याम पाण्डे समेतको उपस्थितिमा बाख्रा वितरण गरियो । विभिन्न गाडीहरु प्रयोग गरी वडामा पठाइयो । नवलपरासीबाट ल्याइएका बोकाबाख्राहरुलाई अष्ट्रेलियाबाट ल्याइएको भनी प्रचार गरियो ।
गाडीको पास बेलबारी नगरपालिकाले नै दिएको थियो
नवलपरासीबाट बोकापाठी ल्याउन प्रयोग भएको गाडीको पास पनि बेलबारी नगरपालिकाले नै बनाइदिएको थियो । निशेधाज्ञाका कारण अवरोध हुनसक्ने भएकाले ना.६ ख.५५५३ नम्बरको फुलबडी ट्रकको पास नगरपालिकाले नै दिएको कृष्ण महतोले बताए ।
बेलबारी नगरपालिकाका महत्वपुर्ण योजनाहरु पाण्डेकै हातमा
श्याम पाण्डेले बोयर आयातको योजना हात पार्नुअघि पनि थुप्रै योजनाहरु पाएका थिए । दमकल खरिद,अन्तरपालिका स्तरिय साझेदारीमा फोहोर प्रसोधन तथा रिसाइक्लिङ प्लान्ट सञ्चालन,सौर्य उर्जा कार्यक्रम लगायत महत्वपुर्ण योजना पाण्डेले नै हात पारेका हुन् । पाण्डेले नै बेलबारी नगरपालिका मेयर सुवेदीलाई युरोप भ्रमणमा लगेको पनि पाण्डेले दावी गरेका छन् ।
बेलबारीमा बोयर काण्डका विषयमा यति धेरै विरोधका आवाजहरु उठेर अष्ट्रेलियाबाट ल्याउँदै नल्याएको पुष्टि हुँदा पनि नगरपालिकाले कारवाही प्रकृया अघि बढाएर त्यसको सुचना नगरवासीलाई दिन ढिला गरिरहेको देखिन्छ । काम गराई पुर्ण रुपमा गलत भैरहँदा पनि श्याम पाण्डेले अझै फरक फरक कुरा गरेर दम्भ प्रदर्शन गरिरहँदा पनि नगरपालिकाले आलटालको निति लिँदा नगरपालिका नेतृत्वनै आर्थिक अनियमिततामा जानीबुझी संलग्न भएको सहजै अनुमान गर्न सकिन्छ ।