बेलबारी बोयर काण्ड : ग्रो अर्गानिकले अष्ट्रेलियाबाटै ल्याइएको प्रमाण दिन सकेन


वोयर बोकापाठी खरिदका लागि बेलबारी नरपालिकाबाट जिम्मेवारी पाएको ग्रो अर्गानिक कृषि प्रा.लि.ले आफुले दावी गरेअनुसार आयात प्रकृया र बोयरको शुद्धता खुल्ने कागज प्र्रमाण पेस गर्न सकेको छैन् । उसले २ दिनभित्र सबै प्रमाण पेस गर्ने दावी गरेपनि दावी अनुसार काम गर्न नसकेको हो । शर्त मापदण्ड अनुरुपका पुष्टि हुने कागजपत्र पेस नगरेपछि बेलबारी नगरपालिकाले विहिबार ग्रो अर्गानिकलाई पत्र लेख्दै समयसिमा तोकेर प्रमाण पेस गर्न भनेको छ । नगरपालिकाले लेखेको पत्रमा यहि जेठ २३ गते सोमबार कार्यालय समय भित्र प्रमाणसहित उपस्थित हुन भनिएको छ । बेलबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले खरिद ऐनको नियम अनुसार ग्रो अर्गानिकलाई पत्र लेखिएको र सम्झौता अनुसारको काम भएको पुष्टि नभएमा नियमानुसारनै कारवाही प्रकृया अघि बढाउने जानकारी दिए।
अष्ट्रेलियन फुल ब्लड बोयर बोकापाठी अष्ट्रेलियाबाट ल्याइएको भनेर नगरपालिकाले भने पनि त्यसबारे प्रश्न उठेपछि ग्रो अर्गानिकका प्रतिनिधि श्याम पाण्डेले २ दिन भित्रमा सबै कागजप्रमाणहरु पेस गर्ने दावी गरेका थिए । तर,उनले भने अनुसारको २ दिन बुधार नै पुरा भैसकेको छ । अष्ट्रेलियाबाटै शतप्रतिशत अष्ट्रेलियन बोयर बोकापाठी ल्याएको पुष्टि हुने प्रमाण सार्वजनिक रुपमा प्रस्तुत गर्न नसकिने अवस्था आएपछि नगरपालिकाले अब ग्रो अर्गानिकलाई कारवाही गर्नुपर्ने अवस्था आएको छ । बेलबारी नगरपालिकाले यसअघि नै सम्झौता अनुसारको काम पुष्ट्याइ नभए धरौटी जफत गर्ने, कालोसुचीमा राखेर सम्झौता रद्द गरी कारवाही गर्ने बताईसकेको छ ।
बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को निति कार्यक्रम अनुसार बोयर बोकाबाख्रा खरिदका लागि २०७७ चैत ११ गते विद्युतिय खरिद प्रकृयाका लागि सुचना जारी गरेको थियो । जस अनुसार ५० ओटा बोका र ३३ ओटा पाठी खरिदका लागि २०७८ जेठ ३ गते ग्रो अर्गानिक कृषि प्रा.लि. संखुवासभासँग १ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता अनुसार ग्रो अर्गानिकले अष्ट्रेलियाको फुलब्लड बोयर बोका ३ देखि ६ महिना उमेर समुहको उपलब्ध गराउनुपर्ने थियो । आयात गरिने बोयर बोका कम्तीमा ३५ केजी र पाठी कम्तीमा ३० केजीको हुनुपर्ने ,त्यस्तै बोकाबाख्राको जिउ सेतो र टाउकोको भाग रातो भएको हुनुपर्ने सम्झौतामा स्पष्ट उल्लेख छ । किसानलाई वितरण गरिएका अधिकांस बोकाबाख्राहरु सम्झौतामा उल्लेख भएभन्दा फरक फरक रंग,तौल र शारिरिक बनावटका रहेको भन्दै किसानहरु नै असन्तुष्टी जनाएका छन् । । सम्झौतामा ८३ वटा उल्लेख भएपनि ९ वटा थप गरिदिएको भन्दै बोकाबाख्रा गरेर ९२ वटा बोयर वितरण गरिएको थियो ।

No photo description available.