बेलबारी बोयर काण्ड : पारदर्शी ढंगले काम गर्न नगरलाई एमाले बेलबारीको निर्देशन


नेकपा एमाले बेलबारी नगर कमिटीले किसानलाई वितरण गरेको बोयर बोकापाठीका विषयमा विभिन्न प्रश्न उठेको भन्दै नगरपालिकालाई निर्देशन दिएको छ । एमाले नगरकमिटीले बुधबार विज्ञप्ती जारी गर्दै नगरपालिकाबाट गलत गतिविधि भए पार्टीले आवश्यक कार्वाहीको कदम अघि बढाउने समेत चेतावनी दिएको छ । अध्यक्ष रविन थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘नगरपालिकाको सम्पत्तिको दुरुपयोग गर्दै कृषकको आर्थिक उन्नति गर्ने नाममा खेलवाड नगर्न नगरपालिकालाई निर्देशन गर्दछौँ ।’
एमालेले बोयर बाख्रा खरिद प्रकरणमा मापदण्ड विपरित बोकापाठी ल्याउने संस्थाको सम्झौता रद्द गरी धरौटी जफत समेत गरेर कालोसुचीमा राखी कारवाही अघि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
ग्रो अर्गानिक कृषि प्रा.लि.सङ्खुवासभाले अष्ट्रेलियाबाट चार्टर गरी बेलबारी ल्याएको भनिएको ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोकापाठीका विषयमा अनियमितताको प्रश्न उठेपछि नगरपालिकाले समेत मापदण्ड अनुसारका बोकापाठी नभए कारवाही प्रकृया अघि बढाउने बताएको छ । यसअघि नेपाली कांग्रेस बेलबारीले पनि विज्ञप्ती जारी गरेर यसबारे सर्वपक्षिय समिति बनाएर छानविन गर्न माग गरेको छ ।