बोयर काण्डः सर्वपक्षिय छानविन समिति गठन गर्न काँग्रेसको माग

मोरङको बेलबारी नगरपालिकाले किसानलाई वितरण गरेको अष्ट्रेलियन बोयर जातका बाख्राको बिषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भैरहेका टिप्पणी प्रति नेपाली कांग्रेस बेलबारीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
वितरण गरिएको पाठा पाठी मापदण्ड अनुसार नभएका र अष्ट्रेलियाबाट ल्याइएको भनिएपनि त्यो गलत भएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भैरहेका टिप्पणी प्रति काँग्रेसले विज्ञप्ती निकालेलर गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
“फुल ब्लड अष्ट्रेलियन बोयर बोकापाठी अष्ट्रेलियाबाटै ल्याउने भनेर ग्रो अर्गानिक कृषि प्रा.लि.सँग सम्झौता भएपनि अष्ट्रेलियाबाट ल्याइएको प्रमाण दिन नसक्नु र शतप्रतिशत शुद्ध बोयर जातका बोकापाठी हुन भनेर पनि प्रमाण दिन नसक्नु, अष्ट्रेलियाबाट बोयर नेपाल भित्रिएको कुनै प्रमाण सम्बन्धित निकायसँग नरहेको भनी सञ्चारमाध्यममा समाचार आउनु, बोकापाठी अष्ट्रेलियन शुद्ध बोयर नभएको भनी किसानहरुले नै दावी गरेर असन्तुष्टी पोख्नु जस्ता विषयले बेलबारी नगरपालिकाले बोयर बाख्रा ल्याएर किसानलाई बाँड्ने नाममा ठुलो आर्थिक चलखेल भएको देखिन्छ” बिज्ञप्तिमा भनिएको छ ।
नगर सभापति सम्भु भटराई र सचिव उपेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त विषय खेदजनक र भत्र्सनायोग्य भनिएको छ । “त्रिभुवन विमानस्थलबाट आउने होस वा छिमेकी भारत वा चिनसँगको जमिनको नाकाबाट ल्याइने सम्पुर्ण पशुका बारेमा विभागमा अनिवार्य जानकारी हुनुपर्ने र त्यसरी अष्ट्रेलियाबाट वा भारत चिनबाट पनि बोकापाठी आयात नभएको पशु सेवा विभागले समेत भनीसकेको अवस्थामा जनता झुक्याउने खेल भएको स्पष्ट हुन्छ” विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुरुप एक करोड चौविस लाख रुपैँयामा शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका बोकापाठी किसानलाई वितरण गरेको भनिएका बोकापाठीहरुको रुपरेखा हेर्दापनि अपत्यारिलो लाग्ने काँग्रेसले भनेको छ । आम नागरिकको आँखामा छारो हाल्ने काम गरेर किसानलाई झुक्याउने र ठुलो आर्थिक अनियमितता समेत भएको नेपाली कांग्रेस बेलबारी नगर समितिको ठहर छ ।
उक्त अनियमितताबारे सत्यतथ्य छानविन गर्न सर्वदलिय सर्वपक्षिय छानविन समिति गठन गर्न नेपाली कांग्रेस बेलबारी जोडदार माग गरेको छ ।
गत शनिबार बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याइएको भन्दै बोयरका ५२ ओटा वोका र ३८ वटा पाठी किसानलाई वितरण गरेको थियो ।