बेलबारी बोयर काण्डः विभाग भन्छ अष्ट्रेलियाबाट बोयर आएकै छैन्

स्थानिय भन्छन् करोडौँको अनियमितता भयो

बेलबारी नगरपालिकाले किसानलाई वितरण गरेका बोयर बोकाबाख्राहरु अष्ट्रेलियाबाट ल्याइएको दावी ‘गलत’ सावित भएको छ । वितरित बाख्राहरु सम्झौता अनुसारका ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ भनेर समेत नगरपालिकाले पुष्टि गर्न सकेको छैन् ।
गत शनिबार नगरपालिकाले किसानलाई वितरण गरेलगत्तैबाट वितरित बोकापाठीहरु भनिए अनुसारका शुद्ध प्रजातिको नभएको र अष्ट्रेलियाबाट ल्याइएको समेत हैन भनेर तिब्र आलोचना भएको ३ दिन वितिसक्दा पनि नगरपालिकाले यसबारे पुष्टि गर्न सकेको छैन् । नगरपालिकाले किसानहरुका लागि उन्नत जातका ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोकाबाख्रा ल्याउन ग्रो अर्गानिक कृषि प्रा.लि.सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार नै तोकिए बमोजिमका बोकाबाख्रा अष्ट्रेलियाबाट लाइएको प्रचार गरिएपनि अहिलेसम्म अष्ट्रेलियाबाट बोकापाठी नभित्रिएको पशुसेवा विभाग अन्तर्गतको आयात निर्यात नियमन शाखाले जानकारी दिएको छ । प्रजाति विस्तार ब्रिडिङका लागि ल्याइने बोकाबाख्रा आयात गर्नुअघि त्यस विषयमा पशुसेवा विभागमा अनिवार्य जानकारी तथा सम्पुर्ण विवरण नै अग्रिम उपलब्ध हुनुपर्ने शाखाका डेस्क अफिसर डाक्टर मनोज शाहीले बताउनुभयो । ‘त्रिभुवन विमानस्थलबाट आउने होस वा छिमेकी भारत वा चिनसँगको जमिनको नाकाबाट ल्याइने सम्पुर्ण पशुका बारेमा विभागमा अनिवार्य जानकारी हुनुपर्ने हुन्छ ।’डाक्टर शाहीले भन्नुभयो,‘त्यसरी अष्ट्रेलियाबाट वा भारत चिनबाटै पनि बोकाबाख्रा आयात भएका छैनन् ।’ कोभिड सुरु भएयता विगत झण्डै १ वर्ष यतानै अष्ट्रेलियाबाट बोकाबाख्रा नभित्रिएको उहाँले स्पष्ट पार्नुभएको छ । यसरी ल्याइने बोकाबाख्राका विषयमा जन्मको मात्रै नभएर उनीहरुका तिन पुस्ते जानकारी सहितको विवरण नै अग्रिम उपलब्ध हुनुपर्ने प्रावधान रहेको शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार आजका मितिसम्म अष्ट्रेलियाबाट करिब साँढे ४ सय बोयर बाख्राहरु मात्रै नेपाल भित्रिएका छन् ।
पशुसेवा विभागका क्वारेन्टाइन अफिसर डाक्टर मोदनाथ गौतमले पनि ब्रिडिङका लागि ल्याइने बोकाबाख्राका विषयमा क्वारेन्टाइनका लागि वा आयात अनुमतिका लागि समेत अनिवार्य विभागमा जानकारी गराउनै पर्ने व्यवस्था रहेको बताउनुभयो ।
तर बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाटै ल्याएको भनिएको ती बोकाबाख्राको प्रजातिय शुद्धता र आयातका विषयमा चौतर्फी प्रश्न उठ्दा समेत नगरपालिकाले चित्तबुझ्दो जवाफ दिन सकेको छैन् । सोमबारमात्रै विज्ञप्ती जारी गर्दै बेलबारी नगरपालिकाले सम्झौता बमोजिमको बोकाबाख्रा पुष्टि नभएमा र मापदण्ड पुरा भएको नदेखिएमा ग्रो अर्गानिक प्रा.लि.को धरौटी जफत गरी कालोसुचीमा राखेर कानुनी प्रकृया अघि बढाउने जनाएको छ । मेयर ज्ञानेन्द्र सुवेदीले विज्ञप्ती जारी गर्दै ग्रो अर्गानिक कम्पनीलाई अहिलेसम्म कुनैपनि रकम भुक्तानी नगरिएको समेत स्पष्ट गर्नुभएको छ।

No photo description available.


नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले सो कम्पनीका प्रतिनिधिले ती बोकाबाख्रा ल्याउने क्रममा आफुहरुसँग अष्ट्रेलियाबाटै आउदैगरेको भनेर पटक पटक दावी गरेको पनि बताउनुभयो । शाहका अनुसार सो कम्पनीले २ दिनभित्रमा बोकाबाख्राका सम्पुर्ण जानकारी विवरण र आयात सम्बन्धीका सबै डकुमेन्ट नगरपालिकामा बुझाउने प्रतिवद्धता जनाएको छ । सम्झौता विपरितका काम भएको भए भुक्तानी नहुने शाहले स्पष्ट पार्नुभएको छ ।
उता ग्रो अर्गानिक प्रा.लि.का प्रतिनिधि श्याम पाण्डेले भने ती बोकाबाख्रा अष्ट्रेलियाबाट भारतको लखनउमा ल्याण्ड गरेर गाडीबाट नेपाल भित्र्याइएको दावी गर्नुभएको छ । पाण्डेले अष्ट्रेलियाको बोयर बाख्रा उत्पादन गर्ने सम्बन्धित कृषि फर्मबाट कागजातहरु झिकाउने र भन्सार सम्बन्धीका सबै कागज प्रमाणहरु पनि नगरपालिकामा पेस गर्ने दावी गर्नुभएको छ ।
पशुसेवा विभागको आयात निर्यात नियमन शाखाले ब्रिडिङका लागि आयात गर्ने सम्पुर्ण बोकाबाख्राका तिन पुस्ते खुल्ने विवरण अग्रिम प्राप्त हुनुपर्ने बताइरहँदा पाण्डेले सबै कागजात अब पेस गर्ने भन्नु नै विवादास्पद रहेको छ । कतिपय किसानहरुले समेत बोकाबाख्राहरु शुद्ध अष्ट्रेलियन नभएको दावी गरेका छन् ।


बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को निति कार्यक्रम अनुसार बोयर बोकाबाख्रा खरिदका लागि २०७७ चैत ११ गते विद्युतिय खरिद प्रकृयाका लागि सुचना जारी गरेको थियो । जस अनुसार ५० ओटा बोका र ३३ ओटा पाठी खरिदका लागि २०७८ जेठ ३ गते ग्रो अर्गानिक कृषि प्रा.लि. संखुवासभासँग १ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता अनुसार ग्रो अर्गानिकले अष्ट्रेलियाको फुलब्लड बोयर बोका ३ देखि ६ महिना उमेर समुहको उपलब्ध गराउनुपर्ने छ । आयात गरिने बोयर बोका कम्तीमा ३५ केजी र पाठी कम्तीमा ३० केजीको हुनुपर्नेछ । त्यस्तै बोकाबाख्राको जिउ सेतो र टाउकोको भाग रातो भएको हुनुपर्ने सम्झौतामा स्पष्ट उल्लेख छ । किसानलाई वितरण गरिएका अधिकांस बोकाबाख्राहरु सम्झौतामा उल्लेख भएभन्दा फरक फरक रंगका रहेका छन् । सम्झौतामा ८३ वटा उल्लेख भएपनि ९ वटा थप गरिदिएको भन्दै बोकाबाख्रा गरेर ९२ वटा बोयर वितरण गरिएको थियो ।


नगरपालिकाले वितरण गरेका बाख्राका विषयमा कतिपय प्राप्त गर्ने किसान समेत र सरोकार राख्ने अन्य व्यक्तिहरुको तिब्र असन्तुष्टी रहेको छ । उनीहरुले किलोको भाउमा अति नै सस्तो मुल्यमा विहारतिरबाट बाख्रा खरिद गरी ल्याएर करोडको हिसाब देखाएर मिलेमतोमा नगरपालिकाले अनियमितता गरेको आरोप लगाएका छन् । बाँडिएका बोका तथा बाख्राहरु केन्द्रिय स्तरको ल्याबमा परिक्षण गरेर शुद्धता मापन गर्नुपर्ने र अनियमितता भएको पाइए संलग्नलाई कडा कारवाही हुनुपर्ने उनीहरुको माग छ । कोरोना महामारीको अवस्था भएकाले गर्दा पनि अधिकांस असन्तुष्टहरुले सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा सार्वजनिक गर्दै नगरपालिकाको आलोचना गरेका छन् ।




Leave a Reply

Your email address will not be published.