कोरोना जित्न संक्रमितलाई बेलबारी नगरको साथ : घरघरमै औषधी र हौसला


दोस्रो लहरको कोरोना संक्रमण तिब्र हुनथालेपछि बेलबारी नगरपालिकाले संक्रमित नगरवासीहरुका लागि रोग प्रतिरोधात्मक औषधीहरु घरघरमै पुर्याइदिन थालेको छ । उपप्रमुख ढाकाकुमारी पराजुली नेतृत्वको स्वास्थ्यकर्मी सहितको टोलीले औषधीहरु वितरण गरिरहेको हो । उपप्रमुख पराजुलीका अनुसार नगरका विभिन्न वडामा होम आइसोलेसनमा बसीरहेका र नगरले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा रहेका संक्रमितहरुलाई औषधी वितरण गरिएको हो । औषधी वितरणको क्रम बुधबार पनि जारी रहेको थियो । ४८ जना संक्रमितका लागि सम्बन्धित वडा कार्यालयमा वडा प्रतिनिधिलाई औषधी हस्तान्तरण गरिएको र अन्य संक्रमितको घरमै आफैँ गएर औषधी वितरण गरेको उपप्रमुख पराजुलीले जानकारी दिनुभएको छ । विहिबार पनि उपप्रमु्ख पराजुली नेतृत्वकै टोलीले संक्रमितको घरमै गएर आषधी वितरण गर्ने भएको छ ।
नगरपालिकाले विभिन्न रोग प्रतिरोध क्षमता वृद्धि गर्ने र कोरोनाविरुद्ध लड्न सहज गराउने औषधीहरु वितरण गरेको हो । बेलबारी आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरूलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरू न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जोचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले जानकारी दिनुभयो ।
संक्रमितलाई कोरोनाविरुद्ध लड्न स्वास्थ्य तथा शारिरिक रुपमै मजबुत बनाउन र मनोबल समेत उच्च राख्न सहयोग गर्ने उद्देश्यले घरघरमै गएर औषधी वितरण गरिएको उपप्रमुख पराजुलीले बताउनुभएको छ । कोरोनाको दोस्रो लहरको संक्रमण निकै घातक समेत रहेकाले सबैलाई सुरक्षित रहन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सन्देश प्रवाह समेत गरिने पराजुलीले बताउनुभएको छ ।
नगरवासीको जीवन बचाउनका नगरपालिकाले कुनै कसर वाकि नराखि काम गर्ने नगर प्रमुख सुबेदी ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । नगरपालिकाले अहिले बेलबारी २ मा अक्सिजन सुविधासहितको आइसोलेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।