बेलबारीमा कोरोनाले १ को ज्यान लिएसँगै संक्रमण पनि उच्च, जोगिने एकमात्रै उपाय व्यक्ति सुरक्षित रहने

होम आइसोलेसनमा स्वास्थ्य शाखाको निगरानी,गम्भिर बिरामीलाई तत्काल अस्पताल लगिने

कोरोना संक्रमणको दोस्रो लहरले देशव्यापी प्रभाव परीरहँदा बेलबारीमा पनि संक्रमणदर बढेको छ । मंगलबारमात्रै बेलबारी २ का १ संक्रमितको मृत्यु भएसँगै यो दुखद घटनाले सबैलाई झस्काएको छ । मंगलबारसम्म बेलबारीमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनुसासित ढंगले पालना नगर्दा यसको संक्रमण दर बढेको भनेर जनस्वास्थ्यविदहरुले बारम्बार गुनासो समेत गर्ने गरेका छन् । संक्रमणबाट जोगिने सबैभन्दा भरपर्दो उपाय नै हरेक व्यक्तिले स्वास्थ्य सुरक्षाका विधि अपनाउनु भएकाले यसतर्फ ध्यान दिन बेलबारी नगरपालिकाले बारम्बार आग्रह समेत गरेको छ ।
गतवर्ष बाट सुरु भएको कोरोना संक्रमणको दर बिचमा विस्तारै घट्दै गएको र कोरोना विरुद्धको खोप अभियान समेत सञ्चालन भैसकेको अवस्थामा पुन कोरोना संक्रमणको महामारी फैलिँदा यसको देशव्यापी संक्रमणदर समेत उच्च देखिएको छ ।कोरोनालाई वेवास्ता गर्ने प्रवृत्ति बढेकाले पनि अहिले यस्को संक्रमण तिब्र देखिएको छ । अहिले संक्रमितलाई राख्ने आइसोलेसन सेन्टर र अस्पतालमा बेडहहरु समेत अभाव हुन थालेको छ ।
होम आइसोलेसनमा स्वास्थ्य शाखाको निगरानी,गम्भिर बिरामीलाई तत्काल अस्पताल लगिने
बेलबारी नगरभित्रका सबै २७ संक्रमितहरु घरमै आइसोलेसनमा बसेका छन् । स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार आइसोलेसनमा बसेका सबै संक्रमितलाई नगरपालिकाले निगरानीमा राखेर हेरविचारको प्रयास गरिरहेको छ । आफुहरुले संक्रमितको उपचार र स्वास्थ्य सुरक्षामा गम्भिर भएर काम गरिरहेकाले उच्च मनोबलका साथ कोरोना विरुद्ध लड्न विश्वकर्माले सबैलाई आग्रह समेत गर्नुभएको छ । संक्रमितलाई स्वास्थ्यमा कुनै गम्भिर समस्या आइपरेमा स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको र त्यस्तो अवस्था आए नगरपालिकाले नै सवारीको प्रबन्ध गरेर अस्पतालसम्म उपचारका लागि लैजाने विश्वकर्माले बताउनुभएको छ ।
व्यक्ति सचेत हुने हो भने कोरोना संक्रमणबाट जोगिन सम्भव रहेको भन्दै विश्वकर्माले सर्वसाधारणलाई सचेत गराउन माइकिङ लगायतका सचेतनामुलक कार्यहरुलाई तिब्रता दिने पनि बताउनु भएको छ । व्यक्तिहरु घरमै सुरक्षित साथ बस्ने, कतै हिँड्नै परे उच्च सुरक्षाका साथ माक्स प्रयोग गर्ने, व्यक्ति विचको दुरी कायम गर्ने, बारम्बार साबुनपानीले हात धुने जस्ता कार्यलाई निरन्तरता दिने हो भने संक्रमण विस्तारको क्रम तोडिने चिकित्सकहरुले बारम्बार बताइरहेका छन् ।