नोबेलमा उच्च सुरक्षा सावधानीसाथ कोरोना संक्रमितको शल्यक्रिया


विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो । उनको टाउकोमा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । तरपनि, अप्रेशन ढिलो हुँदा विरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले संक्रमित महिलाको शल्यक्रिया गरेको हो । शल्यक्रिया ढिलो हुँदा विरामीको ज्यान जानसक्ने संभावना देखिएपछि जोखिम मोलेरै भएपनि शल्यक्रिया गरिएको बरिष्ठ न्यूरो सर्जन डा. काफ्लेले जानकारी दिए । ‘विरामीको ज्यान बचाउँनकै लागि हामी डाक्टर बनेका हौँ, हाम्रा लागि विरामीको स्वास्थ्य ठूलो कुरा हो,’ डा. काफ्लेले भने, ‘अप्रेशन नगरेर विरामीको मृत्यु कुर्नु भन्दा जोखिम मोलेरै भएपनि अप्रेशन गरेका हौं ।’ अप्रेशन थ्रीएटरमा खटिएका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले उच्च सावधानी अपनाउँदै संक्रमितको अप्रेशन गरिएको हो । डाक्टरसहित अप्रेशन थ्रीएटरमा खटिने सबैलाई उच्च स्वास्थ्य सावधानी अपनाउन लगाएर अप्रेशन गर्ने वातावरण मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए । ‘अस्पताल विरामीको ज्यान बचाउँने ठाउँ भएकाले जोखिम मोलेर भएपनि विरामीको अप्रेशन गर्ने वातावरण मिलाएका हौँ,’ डा.शर्माले भने, हामीले नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न थालेका छौं । उहाँमा पनि कोरोना संक्रमण देखिएकाले अब कोरोनाको उपचार निःशुल्क गछौं ।’ अप्रेशनपछि अहिले ती विरामीलाई कोभिड वार्डमा सार्ने तयारी गरिएको छ । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको नोबेल अस्पतालले जनाएको छ ।