बेलबारी नगरले स्नातक प्रथम वर्षका विद्यार्थीको भर्ना शुल्क तिरिदिने : अन्य पालिकाका विद्यार्थी समेत लाभान्वित


बेलबारी बहुमुखी क्याम्पसमा यस शैक्षिकसत्रमा स्नातक प्रथम वर्षमा पढ्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क बेलबारी नगरपालिकाले तिरिदिने भएको छ । यस अनुसार अब बेलबारी वहुमुखी क्याम्पसमा यस वर्ष बि.एड. र बि.बि.एस. प्रथम वर्षमा भर्ना हुन आउने सम्पुर्ण नयाँ विद्यार्थीको भर्ना शुल्क लाग्ने छैन् भने भर्ना शुल्क वापतको रकम नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने छ ।
छात्रवृत्तिबारे जानकारी दिन मंगलबार बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले प्रथम वर्षमा भर्ना हुन आउने सम्पुर्ण विद्यार्थीलाई यो सुविधा प्रदान हुने स्पष्ट पार्नुभएको छ । नगरप्रमुख सुवेदी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ । छुट्टै भुगोल वा फरक पालिका भन्ने जस्ता विषय नहेरी क्याम्पसमा आउने सबै विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले व्योहोर्ने नगरप्रमुख सुवेदीको भनाई छ । शिक्षा जस्तो आधारभुत आवश्यकताको विषयमा कमजोर आर्थिक अवस्थाकै कारण उच्च शिक्षा अध्ययनमा वाधा नआओस भन्ने उद्देश्यका स्थानिय सरकारको दायित्व समेत पुरा गर्ने प्रयास स्वरुप यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सुवेदीले बताउनुभएको छ । साथै यो छात्रवृत्ति कार्यक्रमलाई आउँदा वर्षहरुमा समेत निरन्तरता दिने लक्ष्य रहेको नगरप्रमुखको भनाई छ । बेलबारी नगर कार्यपालिकाले गत बैशाख ५ गते सो छात्रवृत्ति प्रदान गर्नेबारे निर्ण गरेको थियो ।
यो छात्रवृत्ति कार्यक्रमबाट बेलबारी नगरपालिका भित्रका मात्रै हैन जुनसुकै पालिकाबाट बेलबारी बहुमुखी क्याम्पसमा अध्ययनका लागि आउने विद्यार्थीहरु समेत लाभान्वित हुने भएका छन् । क्याम्पस प्रमुख खगेन्द्रप्रसाद लुईटेलका अनुसार प्रथम वर्षमा भर्ना हुन आउनेहरुमा भोजपुर,धनकुटा,तेह्रथुम लगायतका पहाडी जिल्ला तथा बेलबारीसँगका छिमेकी पालिकाहरुका धेरै विद्यार्थीहरु रहेका छन् । लुईटेलका अनुसार क्याम्पसमा नेपाली माध्यममा पढाई हुने बि.एड. र बि.बि.एस प्रथमवर्षकौ भनार्य शुल्क ६ हजार १ सय ५ र अंग्रेजी माध्यमका लागि ६ हजार २ सय ५ रुपैयाँ रहेको छ । लुइटेलले नगरपालिकाले क्याम्पसको विकास र विद्यार्थीको भविष्य निर्माणका लागि गरेको योगदान प्रसंसनिय रहेको र दुवैपक्षलाई उर्जा प्रदान गरेको पनि बताउनुभएको छ ।
यसैविच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि नगरपालिकाले विद्यार्थीहरुलाई अविभाकत्व प्रदान गरेको भन्दै खुसी व्यक्त गरेका छन् । बि.एड. प्रथम वर्षका पुरुषोत्तम पौडेल,बिबिएस प्रथम वर्षकी रोस्नी शाह र बिएड प्रथम वर्षकी आरती ठाकुरले नगरपालिकाले छात्रवृत्ति प्रदान गरेर विद्यार्थीको आर्थिक भारलाई कम गरिदिएको र हौसला प्रदान गरेको बताउनुभएको छ ।
२०६५ सालमा स्थापना भएको बेलबारी बहुमुखी क्याम्पस भर्खरैमात्रै आफ्नो भवनमा सरेको हो । भाडा तिरेर कक्षा सञ्चालन हुँदै आएको क्याम्पसको आफ्नै जग्गा र भवन भएपछि पठनपाठनमा पनि सजिलो र आर्थिक भार पनि कमी भएको क्याम्पसले जनाएको छ ।