सुनसरी जिल्लाको बर्जु गाउँपालिका – ६ मा ऎतिहसिक समतल भुभागको रुपमा रहेको नेपालको सबै भन्दा ठूलो १६० विगाहा क्षेत्रफलमा रहेको बर्जु ताल रहेको छ । बर्जुतालको संरक्षणमा स्थानीयवासी जुटेसँगै तालको स्वरूप फेरिँदै गएको छ भने यो ताल प्रदेश नं. १ कै पर्यटकीय गन्तव्यस्थल बन्ने क्रममा दिनानुदिन उन्मुख हुँदै छ ।
बर्जु सामुदायिक बिकास केन्द्रले पर्यटन बिकास तथा संरक्षण गर्ने हेतुले बर्जु ताल छेउमा चैत्र २० गते देखि बैशाख १ गते सम्म द्रोश्रो पर्यटन महोत्सव सुरु गरेको छ। कोरोनाको सन्त्रास अझै भएतापनि आज बिहिबार पत्रकार सम्मेलन गरि महोत्सवको बारेमा संस्थाका सचिब सरोज चौधरी जानकारी दिएका हुन्। महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै राष्ट्रिय कलाकार संगै कुस्तीका प्रतियोगिता सञ्चालन गर्ने भएको छ । महोत्सव आयोजकाले सो क्षेत्र सेनिटाइज गरेको जानकारी दिदै आगन्तुक दर्शकलाई महोत्सव प्रवेश शुल्क ५० लिने र ताल प्रवेश भने निशुल्क हुने जनाएको छ। माक्स प्रयोग गरि स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउने बुझिएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठले महोत्सव प्रवेश द्वारहरुमा हेल्थ डेक्स निर्माण गरि स्वास्थ्य परिक्षण गर्ने जानकारी दिए।
महोत्सवमा दर्शकको ध्यान भने कुस्तीतर्फ बढी केन्द्रित देखिएको हुँदा यस बर्ष पनि दैनिक मध्यान्हपछि आयोजना हुने कुस्ती हेर्न गाउँपालिकाका वडासँगै आसपासका गाउँपालिका र विराटनगरबाट समेत दर्शक आउने अपेक्षा गरिएको छ । आयोजकले कुस्तीतर्फको दर्शकको क्रेज देखेरै प्रतियोगिताका खेलहरू लमब्याउँदै आएको छ ।
महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सञ्जीव चौधरीले भने महोत्सवको व्यवस्थापन निकै खर्चिलो रहेको बताए । कुस्ती खेलाडीको बसोवास र खानपिनसँगै साङ्गीतिक कार्यक्रमका लागि सहभागी गराइएका कलाकारहरूको खर्च धान्न मुस्किल रहेको उनले बताए । चौधरीका अनुसार महोत्सव पूर्ण रूपमा बर्जु तालको प्रचारप्रसारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।
तालमा पाइने विभिन्न प्रजातिका चरा अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले बर्जु ताल अहिले पर्यटन आकर्षक केन्द्र बनेको छ। बर्जु ताल प्रदेश नं. १ को सबैभन्दा ठूलो जलाशय भएको ताल हो । १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएर रहेको बर्जु ताल ६२ बिघा क्षेत्रमा जलाशय रहेको छ । पछिल्लो समय बर्जु तालमा पिकनिक खानेदेखि घुम्न र विशेष गरी चराको अध्ययन–अनुसन्धानका गर्ने एक थलोसमेत बन्न पुगेको छ ।