६४ औँ राष्ट्रिय सहकारी दिवस पथरीमा मनाइने

प्रेमप्रसाद भट्टराई (के।डी) । पथरी । ६४ औँ राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । प्रत्येक चैत्र २० गते देशभर मनाइदै आएको सहकारी दिवस यो वर्ष पनि मनाइने भएको हो ।

मोरङ जिल्लाभरका सहकारीकर्मिहरुले ६३ औँ सहकारी दिवस पनि पथरीशनिश्चरेमै मनाउने योजना बनाएपनि कोरोना महामारीका कारण उक्त कार्यक्रम रोक्नुपरेको थियो । यस वर्ष पनि कोरोनाको कारण देखाउँदै सरकारले भिँडभाड भएर ठुला कार्यक्रम नगर्न आग्रह गरेपछि केही कार्यक्रमलाई स्थगन गर्दै उक्त दिवस सामान्य तरिकाले मनाइने आयोजकले बताएको छ । मूल समारोह समितिको आयोजकत्वमा हुने उक्त कार्यक्रममा नेपालमै पहिलोपटक सहकारी खोल्ने स्व. बखानसिंह गुरुङको शालिक अनावरण गरिने भएको छ । स्व. गुरुङले वि.सं २०१३ सालमा नेपालमै पहिलोपटक चितवनमा सहकारी संस्था खोलेका थिए ।

२० गते विहान ११ बजे मनकामना सामुदायीक बनमा स्व. गुरुङको शालिक अनावरणपछि हरियाली सामुदायीक बनमा अन्य विविध कार्यक्रमहरु हुनेछन् । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख माननिय सोमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहनेछ भने संघिय संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का भूमि, ब्यवस्था कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर लगायतको उपस्थिति रहने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए । नेपालमा हाल करिव ३० हजार सहकारी संस्थाहरु रहेका छन् ।