सरकारलाई दिएको समर्थन फिर्ता लिन अलमलमा माओवादी केन्द्र

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन अझै अलमलमा परिरहेको छ । केन्द्रले अझै केही दिन फिर्ता नलिने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले केही दिन अझै समर्थन फिर्ता नगर्ने निष्कर्ष निकालेको हो ।

नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर समर्थन फिर्ताको विषयमा निर्णय गर्ने बताए । प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीबाट स्पष्ट धारणा नआइसकेको हुँदा केही दिन पर्खिने उनले बताए । माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् ।