ईरान राईको ‘लिम्पियाधुरा’ विश्वकै सानो पुस्तक हुन सक्ने : गिनिज बुकमा निवेदन दिने तयारी


बेलबारीका साहित्यकार इरान राईले आफुले प्रकासन गरेको ‘लिम्पियाधुरा’ पुस्तक विश्वकै सबै भन्दा सानो पुस्तक हुन सक्ने भन्दै त्यसका लागि गिनिज वर्ल्ड रेकर्डमा दावी प्रस्तुत गर्ने बताउनुभएको छ । राईद्वारा लिखित निकै साना आकारका हाइकु संग्रह पुस्तकहरु ‘लिम्पियाधुरा’ र ‘पुरानो काग’ गत माघ २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा सार्वजनिकीकरण गरिएका थिए । लिम्पियाधुरा हाइकु संग्रह पुस्तकको लम्बाई १.५ सेन्टीमिटर र चौडाई ०.७५ सेन्टीमिटर मात्रै रहेको छ । १.१३ वर्ग सेन्टीमिटरको पुस्तक लिम्पियाधुरामा ६६ वटा हाइकु संग्रहित छन् । पुरानो काग पुस्तकको लम्बाई १.७५ र चौडाई ०.७५ सेन्टीमिटर रहेको छ । १.३१ वर्ग सेन्टिमिटरको सो पुस्तकमा ७६ वटा हाइकु संग्रहित छन् । पुरानो कागमा पुर्णरुपमा व्यंग्यप्रधान हाइकु संग्रहित रहेका छन् ।
आफ्ना यी दुई कृति मध्ये लिम्पियाधुरा विश्वकै सानो पुस्तकाकार साहित्यिक कृति हुनसक्ने राईको दावी छ । आवश्यक प्रकृया पुरा गरेर गिनिज वर्ल्ड रेकर्डमा यसबारे दावी प्रस्तुत गर्ने तयारीमा रहेको राईले शनिबार जानकारी दिनुभएको हो । बेलबारीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले केही नयाँपन दिन र नेपाली भाषा प्रतिको बढ्दो उदासिनतालाई चिर्दै यी पुस्तककै माध्यमबाट नेपाली भाषाप्रति विश्वको ध्यान आकृष्ट गर्न र भाषिक प्रवद्र्धन प्रयासका लागि पनि पुस्तक प्रकासनमा ल्याएको जानकारी दिनुभयो ।


साहित्य सिर्जनामा सामान्य भन्दा केही भिन्न र नयाँपन मिसाउने एक पछि अर्को प्रयासमा रहनुभएका राईले यसअघि पनि नेपालको राष्ट्रिय झण्डाको आकारमा झण्डा कविता पुस्तक प्रकासन गरिसक्नुभएको छ । उहाँको झण्डा कविता २०६० सालमा प्रकासित भएको थियो । राईका अन्य १ दर्जन कृतिहरु प्रकासित रहेका छन् ।