ओलि र प्रचण्ड-माधव बराबर दोषी छन: महेश आचार्य

सुन्दरहरैचा । नेपाली कांग्रेसका नेता महेश आचार्यले योजनाबद्द ढंगले नै नेकपाले वर्तमान संविधानलाई भत्काउन लागिपरेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री स्व. स्वर्गीय सुशील कोइरालाको पाचौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मोरङ, क्षेत्र न.४ ले आयोजना गरेको स्मृति सभामा बोल्दै नेता आचार्यले नेपालका कम्युनिस्टहरु यो संविधान र व्यवस्थाप्रति इमानदार नभएको जिकिर गर्नुभयो ।

‘यहि संविधानको जगमा उभिएर नेकपाले झन्डै दुईतिहाई मत ल्याउन सफल भयो। तर जुनदिनबाट चुनावी परिणाम आफ्नो पक्षमा आयो, त्यहि दिनदेखि नेकपा संविधानलाई क्षतविक्षत गर्न उद्धत भयो।’- आचार्यले भन्नुभयो -‘त्यतिबेला प्रचण्ड र माधव संवैधानिक मर्म र मर्यादाभन्दा बाहिर गएर ओलिले गरेको मनपरिमा तिघ्रा ठटाउदै हो मा हो मिलाइरहेका थिए।’

संविधान निर्माणताका भएका कतिपय घटनाक्रम आफ्नो स्मृतिपटलमा ताजा रहेकोे उल्लेख गर्दै आचार्यले ‘कम्युनिस्टहरुले बहुलवादमा आधारित संसदीय व्यवस्था हुनेछ’भन्ने वाक्यलाई प्रस्तावनामा लेख्न नचाहेको प्रसंग उप्काउदै भन्नुभयो-‘कांग्रेसले राखेको अडानको कारण मात्रै त्यो वाक्य संविधानमा समेटिएको हो। त्यो पनि प्रस्तावनामा नभएर धारा ७४ को बुंदाको रूपमा’- आचार्यको कथन थियोे-‘यसले बुझाउछ, कम्युनिस्टहरु लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी राज्यव्यवस्थाको पक्षमा थिएनन्।त्यसैले प्रारम्भबाटै संविधानप्रति उनीहरूको बक्रदृष्टि थियो।’

आचार्यले संविधान निर्माणको अन्तिम क्षणमा केपी ओलि,प्रचण्ड,माधवहरुले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि त्यसै बिषयलाई लिएर निर्मम र तिक्ततापूर्ण प्रहारसमेत गरेको स्मरण सुनाउनुभयो । तर स्व. कोइरालाको चट्टानी अडानकै कारण लोकतान्त्रिक संविधान बन्नसकेको भन्दै आचार्यले आज संविधानमाथिको यो प्रहार केवल प्रधानमन्त्री ओलिले मात्रै गरेको नभई समग्रमा कम्युनिस्टहरुले गरेको प्रहार हो’ भन्नुभयो । तर कांग्रेस ओलि ठिक, कि प्रचण्ड-माधव ठिक ? भनेर अलमलमा परेको देखेर आफू आश्चर्यमा परेको आचार्यको भनाइ थियो ।उहाँले भन्नुभयो- ‘कांग्रेसले ओलि, प्रचण्ड वा माधवमध्ये को ठिक ? को बेठीक? छुट्ट्याउन समय खेर फाल्न हुँदैन।उनीहरू समान दोषी छन ।

संविधानको निर्माता पनि कांग्रेस हो र यसको संरक्षक पनि कांग्रेस नै हो भन्ने सन्देश बोकेर जनतामाझमा जानुपर्ने उहाँले सुझाउनुभयो । अगाडि भन्नुभयो- ‘जनताको माझमा यथार्थ कुरा जे छ त्यो छर्लङ्गसंग राख्नुपर्दछ । अनि भन्नुपर्दछ कि कहाँ कहाँ,कसरी कसरी नेकपाले संविधानमाथि प्रहार गरेको छ ? अब कसरी संविधानको रक्षा हुनसक्दछ ?’

आचार्यको अनुसार संविधानको रक्षाले मात्रै व्यवस्थाको पनि रक्षा हुनसक्दछ भन्ने तथ्य जनतालाई बुझाउन कांग्रेसले आन्दोलनमा जानुपरेको हो ।

अहिलेको परिस्थितिमा सबैभन्दा ठूलो मुद्दा संविधानको ‘करेक्सन’ भएको हुँदा कांग्रेसले यो अभिभारा काधमा हालेर हिड्नुपर्ने, जनताको भावना पनि यहि नै रहेकाले कांग्रेस यसैमा समर्पित भएर लाग्नु श्रेयस्कर हुने बताउदै आचार्यले ‘तर कांग्रेस जनताको माझमा भने आफ्नो एजेन्डाको साथमा एक्लै हिंड्नुपर्ने बताउनुभयो ।

नेकपाको एउटा समूह असंवैधानिक कदममार्फत आफूलाई तानाशाहका रूपमा स्थापित गर्न लागिपरेको र अर्को समूहचाहिँ मांसाहारी आन्दोलनको हुंकारमार्फत मुलुकलाई स्थायी द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको प्रसंग उल्लेख गर्दै आचार्यले नेपाली जनताले किमार्थ उनीहरूको यो दुस्वप्नलाई पूरा हुन नदिने जिकिर पनि गर्नुभयो ।’

तर देशको लागि तानाशाह उति ठूलो चुनौती नरहेको उहाँको भनाइ थियोे।उहाँले भन्नुभयो- ‘जनताको अगाडि जन्मजात तानाशाह त टिकेन।जननिर्वाचित तानाशाह त आफैं ठेगान लाग्छ ।’ उहाँले थप भन्नुभयो- ‘बरु मांसाहारी प्रवृत्ति राजनीतिमा निकै खुंखार अनि घातक हुने गर्दछ ।’ दस बर्षसम्म चलेको हिंसाको राजनीतिले पुर्‍याएको चोट नेपाली जनताको मनमा अझै आलै रहेको प्रसंग जोड्दै आचार्यले ‘मांसाहारी आन्दोलनको दुमदुमी बजाउने कुत्सित मनसाय राख्ने प्रचण्ड घोर राजनीतिक बेइमान भएको’ बताउनुभयो ।

‘असंवैधानिक कदम सच्याउने तागत त कांग्रेसले राख्छ तर मांसाहारको भुंग्रोमा मुलुक पर्‍यो भने कसको तागत छ त्योबाट जोगाउनलाई ? ‘ आचार्यले अगाडि भन्नुभयो- ‘त्यसैले कांग्रेस संसद पुनःस्थापनाको पक्षमा उभिएको छ। संविधानलाई सहि ट्र्याकमा ल्याएर जनताको अधिकार सुरक्षित गर्न लागेको छ ।’

आचार्यले स्व.सुशील कोइराला प्रतिभासम्पन्न व्यक्तित्वको रूपमा उदाएको नेता नभई कर्म र समर्पणले बनेको नेता भएको उल्लेख गर्नुभयो।सादा जीवन तर उच्च अडान राख्ने छवि भएकै कारण स्व.कोइरालाको नेतृत्वमा संविधान निर्माणको प्रक्रिया सम्पन्न हुनसकेको आचार्यको भनाइ थियोे ।




Leave a Reply

Your email address will not be published.