सुन्दरहरैचामा व्यवसायीले गरे बन्दको प्रतिकार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा व्यवसायी आफैले बन्दको प्रतिकार गरेका छन । बिहिबार देश व्यापी रुपमा आमहड्तालको घोषणा प्रचण्ड-माधव समुहले गरे पनि सुन्दरहरैचामा निर्वाद रुपमा व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनमा ल्याएका हुन ।

प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम अंसवैधानिक भएको भन्दै बिहीबार पुष्प कमल दहाल (प्रचण्ड) माधव नेपाल नेतृत्वको नेकपाले आमहडतालको घोषणा गरेको थियो ।

नौ महिना कोरोनाको कहर र लकडाउनले ब्यवसाय थला परिरहेको बेला ब्याक्तिगत स्वार्थ पुरा गर्न राजनीतिक दलले गरेको बन्दलाइ सुन्दरहरैचाका ब्यवसायिहरूले ठाडै अस्विकार गरि ब्यवसायहरू सुचारू गरेपछि सुन्दरहरैचामा बन्द असफल देखिएको हो ।

सुन्दरहरैचामा बिहानै देखि प्रचण्ड , नेपाल पक्षका बन्दकर्ता तथा कार्यकर्ताहरू देखिएका थिएन । बन्दकर्ताको उपस्थिति नै शुन्य बनेपछि सुन्दरहरैचामा बन्दको प्रभाव पनि देखिएको छैन ।

बन्दको आयोजना गरिएपनि सुन्दरहरैचामा बिहानै देखि ब्यवसायिहरूले आ – आफ्नो पसल बन्द नगर्ने अडान स्वरूप खुल्ला गरेका थीए । नौ महिना कोरोनाको कहरका कारण ब्यापार ब्यवसाय चौपट बनेको ठहर सहित राजनीतिक दलले आयोजना गरेको बन्दको सोझै प्रतिकार गर्ने ब्यवसायिहरूले अडान लिएका छन ।

सुन्दरहरैचा उधोग वाणिज्य संघले समेत एक विज्ञप्ति सार्वजनिक गरेर सबै व्यवसायीलाई आफ्नो व्यवसाय सुचारु गर्न आग्रह गरेको थियो । संघका सचिव नारायण कार्किद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरि व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।