सुन्दरहरैचा १२ मा टोल स्तरीय फुटबल प्रतियोगिता सुरु

सुन्दरहरैचा ।
मोरङको सुन्दरहरैचा १२ मा टोल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नं १२ को आयोजनामा तेस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको शनिबार उद्घाटन भएको छ ।

उद्घाटन खेलमा खोर्साने टोलले शुक्रबारे प्रणाम टोललाई पराजित गरेको छ । खेल १–० गोल अन्तरले खोर्सानेले आफ्नो पक्षमा पार्न सफल भयो । शनिबार भएको दोस्रो खेलमा सिद्धेश्वर टोलले संगम टोललाई १–० गोल अन्तरले पराजित गरेको छ । आइतबार खोर्साने टोल र सुकुना टोलबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० हजार, दोस्रोले ५ हजार पाउने छ । प्रतियोगिताभर बढि गोल गर्नेले १ हजार ५ सय, उत्कृष्ट गोलकिपरले १ हजार १ सय, उत्कृष्ट डिफेन्डरले १ हजार १ सय र उत्कृष्ट खेलाडीले पनि १ हजार १ सय पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पौष २७ गते हुनेछ ।

शुक्रबारेमा अवस्थित खेल मैदानमा भएको उद्घाटन कार्यक्रमा वडा अध्यक्ष रोशन ढकालले यस्ता प्रतियोगिताले टोलटोलमा रहेका प्रतिभावान खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताए । उद्घाटन कार्यक्रमको सन्चालन शुक्रबारेका स्थानीय शिक्षक हिमाल अधिकारीले गरेका थिए ।