मधुमेह के हो ? यस्ता छन् नियन्त्रणमा राख्ने उपाय

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मधुमेह एक दिर्घकालिन मेटाबोलिक रोग हो , जसमा रगतमा हुने ग्लुकोजको मात्रा असाधारण रुपमा बढेर जान्छ । ईन्सुलिन हार्मोनले रगतमा हुने ग्लुकोजलाई हाम्रो कोषहरुमा भण्डारण गर्न वा उर्जाको लागि उपयोग हुन मदत गर्दछ । मधुमेह हुदा हाम्रो शरीरले पर्याप्त इन्सुलिन बनाउदैन या त यसले बनाएको इन्सुलिनको प्रभावकारी कोषीकामा कम मात्रामा हुन्छ । मधुमेहले दिर्घकालमा स्नायु , आँखा, मृगौला र अन्य अंगहरुलाई बिर्गान सक्छ । जसले गर्दा अनियन्त्रित ग्लुकोजले हृदयघात हुने खतरा पनि बढाउदछ ।

मधुमेहका डायग्नोस्टिक मापदण्डहरु :
१) रगतमा चिनिको स्तर कुनै पनि समयमा २०० मिलिग्राम/१०० मिलिलिटर बराबर वा अधिक भएमा ।
२) खाली पेटमा रगतमा चिनिको मात्रा १२६ मिलिग्राम/१०० मिलिलिटर बराबर वा अधिक भएमा ।

यसको प्रकार र कारणहरु :

टाइप १ मधुमेह :
टाइप १ मधुमेह यसलाई इन्सुलिन आश्रित मधुमेह पनि भनिन्छ । यो एक अटोइम्युन अवस्था हो । यसमा शरीरले एण्टिबडिहरुको साथ अग्न्यासलाई आक्रमण गर्दछ । यसले अग्न्यासयलाई बिर्गाछ र इन्सुलिन बनाउदैन । साथै जिनको कारणले यस प्रकारको मधुमेह हुनसक्छ । बातावरणिय कारक र सम्भावित रुपमा भाईरल सक्रमण वा बाल्यकाल वा चाडो वयस्कको समयमा पोषण तत्वले अग्न्यासयको इन्सुलिन उत्पादन गर्ने कोषहरु नष्ट गर्न सक्छ । जसले गर्दा टाइप १ मधुमेह हुने सम्भावना बढि हुन्छ । अनुवाशिंक अवस्थाले केही मनिसहरुलाई बातावरणिय कारकको लागि बढी संवेदनशिल बनाउछ ।

टाइप २ मधुमेह :
यस रोगको शुरुवातमा अग्न्यासयले इन्सुलिन उत्पादन गर्न जारी राख्छ तर पछी गएर हाम्रो शरीरले इन्सुलिनको प्रभावहरुको प्रतिरोधको बिकास गर्दछ । त्यसैले शरीरमा इन्सुलिनको आवश्यकता पुरा गर्न प्रयाप्त इन्सुलिन हुँदैन । टाइप २ मधुमेह बढ्दै जादा अग्न्यासयको इन्सुलिन उत्पादन गर्ने क्षमता पनि काम हुँदै जान्छ ।

टाइप २ मधुमेह कुनै समय किशोर–किशोरीहरूमा दुर्लभ नै थियो तर अहिले धेरै सामान्य हुदै गएको छ । मधुमेह रोग हुनेहरुमा २६ बर्ष भन्दा माथिका करीव ६५% व्यक्तिलाई टाइप २ मधुमेह हुने खतरा हुन्छ ।

प्रारम्भिक पहिचान र उपचारले जीवनभर स्वास्थ्य सुधार गर्न सकिन्छ । मोटोपना टाइप २ मधुमेह विकासको लागि अर्को मुख्य जोखिम कारक हो ।

गर्भवती मधुमेह :

गर्भावस्था अवस्थामा सामान्यतया इन्सुलिन प्रतिरोध देखिन सक्छ र यदि मधुमेह भयो भने, यसलाई गर्भलिंग मधुमेह भनिन्छ । गर्भवती मधुमेह भएका महिलाहरूमा १०% मधुमेह टाइप २ हुन् सक्छ ।

मधुमेहका अन्य प्रकारहरु:
१% देखि ५% मानिसमा मधुमेहका अन्य कारणहरू पनि हुन सक्छन । यसमा पेनक्रियाजका रोगहरू, केहि शल्यक्रिया, औषधिहरू र संक्रमणहरू समावेश छन ।

मधुमेहका लक्षणहरु:
१) धेरै तिर्खा लाग्नु ।
२) छिन् छिनमा पिसाब लाग्नु ।
३) बढी भोक लाग्नु ।
४) थकान महसुस गर्नु ।
५) धमिलो दृष्टि ।
६) बान्ता र टाउको दुख्ने ।
७) मूड परिवर्तन, चिडचिड आदि ।

मधुमेह बिरामीका आहार र जीवनशैली :
आहार नियन्त्रण, नियमित व्यायाम, धूम्रपान र मदिरा त्याग्ने, मधुमेह सम्बन्धी शिक्षा यसको उपचारको आधारशिला हो । जीवनशैली र आहार परिवर्तन भए पनि रगतमा ग्लूकोजको स्तर बढेमा बिरामीहरूलाई चिनी कम गर्ने औषधिको आवश्यकता पर्दछ ।

मधुमेह भएका बिरामीहरुले दैनिक खानु पर्ने खानाहरु :
१) अन्नमा उसिना चामल , चोकर भएको आटा , फापर ,कोदो, मकै ,जौ र दालहरुमा रहर, मुगी र मुसुरो आदी हुन ।
२) माछा मासु उसिनेर पकाई दैनिक रुपमा ४/५ टुक्रा सेवन गर्ने ।
३) गाईको दुध, प्लेन दही, मोही र उसिनेको अण्डा (सेतो भाग) दैनिक रुपमा सेवन गर्ने ।
४) फलफुलमा (स्याउ, मेवा ,किबी, एभोकार्डो, ड्रागन फ्रुट्स, अंमला नास्पाती, स्ट्रबेरी, बेल) आदी ।
५) हरियो सागपात ( चम्सुर, रायो, लट्टे, बेथु , सिस्नु , तोरी ) र सलादमा गाजर , मुला, काक्रा र चुकन्दर आदी ।
६) अन्य तरकारीहरुमा ब्रो काउली , काउली , बन्दा, सिबी, साग , लौका, तिते करेला र चिप्ले भिण्डी आदी सेवन गर्ने ।
८) ओखर गूदी , बदाम, खजुर, काजु आदी जस्ता खाध्य वस्तुहरुको प्रयोग गर्नुपर्दछ ।

यसरी खानुहोस मधुमेह भएका बिरामीहरुले खाना ( औषधी सेवान नगरेको अवस्थामा ) :

१) बिहान ७ बजे १ ग्लास दुध , क्रनफ्लेस १ मुठ्ठी र उसिनेको अण्डा १ पिस ।
२) बिहान १० बजे खाना (१०-१२ ) चम्चा उसिना चामलको खाना । हरियो साग अन्य तरकारी आलु नमिसिएको , मासु ४/५ टुक्रा सलाद ४/५ टुक्रा ,रातो दाल १ कचौरा, ताजा टमाटर को अचार र प्लेन दही एक कप ।
३) दिउसो १२ बजे : १ प्लेट सलाद ( गाजर , मुला, काक्रा र चुकन्दर )
४) दिउसो २ बजे : रोटी १ पिस , साग १ प्लेट सानो , दुध १ ग्लास र फलफुल ( स्याउ , मेवा , नस्पाती आदी ) १५० ग्राम ।
५) साझ ४ बजे : चिनी नहालेको १ कप कालो चिया , २ पिस सुगर फ्री बिस्कुट ।
६) साझ ०६:३० बजे : आटाको रोटी ३ पिस , साग , सलाद र अन्य तरकारी ।
७) सुत्ने समयमा १ ग्लास दुध र ओखर बदाम ।
९) कालो चिया, तुलसी चिया, लेमन ग्रासको चियामा दाल चिनी , अलैची प्रयोग गर्ने र पिउनेल पानी दैनिक ३ देखि ४ लिटर सम्म प्रयोग गर्ने ।

मधुमेह बिरामीहरुले गर्नुपर्ने कुराहरु:
१) दैनिक ५/६ पटक डाइटिसियनले दिएको सल्लाह बमोजिम खाना खाजा सेवन गर्ने ।
२) दैनिक शारीरिक व्यायम न्युनतम ४५ मिनेट गर्ने ।
३) सुत्ने र उठ्ने समय निश्चित गर्नुपर्ने । दैनिक ६ देखी ८ घण्टा सुत्नु पर्ने ।
४) मानसिक तनाव कम गर्न मनोरञ्जन कृयाकलापमा व्यस्त रहने ।
५) सामुहीक भोजनमा जादा खानपिनलाई ध्यान दिने ।
६) नियमित खानुपर्ने औषधी सही समयमा सेवन गर्नुपर्छ ।
७) आफ्नो तौल र चिनिको मात्रा नियमित चेकजाच गरिरहनु पर्दछ ।
८) आफ्नो खाना खाने थाल, कचौरा, ग्लास, चम्चा आदि छुट्टै प्रयोग गर्नुपर्छ ।

मधुमेह सम्बन्धी यो लेख डा. सिवानी सिहं र पोषणविद् टंक भट्टराईले सयुक्त तयार पारेको हो । डा. सिहं र भट्टराई नेपाल प्रहरी अस्पातल महाराजगञ्ज काठमाडौमा कार्यरत हुनुहुन्छ ।