रारा क्लब संजोग स्मृति फुटबलको फाइनलमा

रारा फुटबल क्लब टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनकुटाको रारा फुटबल क्लबले सेमिफाइनलमा मोरङको बिन्दाबासिनी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

मोरङको बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको सेमिफाइनल खेल निर्धारित ८० मिनेटमा १–१ को बराबारि भएपछि टाइब्रेकरमा रारा विजयी भएको हो ।
टाइब्रेकरमा राराका लागि योगेश गुरुङ, बुद्ध चेम्जोङ , सुनिल खड्का र रुपेश केसीले गोल गरे । प्रवेश दनुवारको पेनाल्टी गोलमा परिणत हुन सकेन । बिन्दाबासिनीका लागि अनिल धामी, पदम भट्टराई र मिलन राईले गोल गरे । अजित चौधरी कैलाश बस्नेतको पेनाल्टी भने सफल भएन ।

निर्धारित खेलको छैटौं मिनेटमा प्रवेशको आत्मघाती गोलबाट बिन्दाबासिनीले खेलमा अग्रता लिएको थियो । २५ औं मिनेटमा राराका बुद्धले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार सताक्षीधाम स्पोटिड्ग क्लब र झिलझिले धरान सिटी एकेडमी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।