खैजडु भजनको संरक्षणमा शिवशक्ति भजन समुह

बिराटचौक ।
लोप हुन लागेको खैजडु भजन र संगिनी भजनको संरक्षण गर्न मोरङ सुन्दरहरैचाको एउटा समुह सक्रिय छ । सुन्दरहरैचा ११ मा रहेको शिवशक्ति खैजडु भजन समुह बाबुबाजेका पालामा संस्कृति अनुरुप मानिआएका पुरुषहरुले गाउने खैजडु त्यस्तै महिलाहरुले गाउने संगिनी जस्ता लोपोन्मुख अवस्थामा रहेका परम्परालाई संरक्षण गरी समाजमा देखिएका बिकृति बिसङ्गतिहरुलाई अन्त्य गर्दै मानविय हितका कार्यमा मार्ग्निनर्देशन गर्ने उद्देश्यका साथ लागिपरेको छ ।

स्थापनाको ४ बर्ष पुरा गरेको अवसरमा उक्त समुहले शनिबार बार्षिक उत्सव मनाएको छ । सुन्दरहरैचा ११ शुक्रबारेमा भएको कार्यक्रममा समुहका पुरुष सदस्यहरुले खैजडु भजन र महिला सदस्यहरुले संगिनी गाएर प्रस्तुत गरेका थिए । कार्यक्रममा ४ जना जेष्ठ नागरीक र समाजमा योगदान दिने १५ जना समाजसेवीलाई सम्मान पनि गरिएको थियो ।

खैजडु, र संगिनी बाबुबाजेका पालामा गाइदै आएको संस्कृति पुर्वबाटै लोप हुन लागेकोले जगेर्ना गर्न लागिपरेको समुहका अध्यक्ष केशव प्रसाद न्यौपानेले बताए । आधुनिक समय संगसंगै नेपालमा मानिदै आएका कतिपय हाम्रा मौलिक संस्कृतिहरु हराउदै जाने र पश्चिमेली संस्कृतिको प्रभाव बढी पर्न थालेको अवस्थामा खैजडु र संगिनी भजनको संरक्षणमा समुह सक्रिय रहेको समुहका कोषाध्यक्ष लिलामणि बरालले बताए । आधुनिक युगमा लोप हुनै लागेका हाम्रा मौलिक संस्कृतिको संरक्षण संबर्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याइरहेको स्थानीय समाजसेवी मोहनलाल श्रेष्ठले बताए ।

सुन्दरहरैचा नगरपालिका १, ८, ११ र १२ वडाका गरी जम्मा २० जना सदस्य रहेको उक्त समुहले मासिक रुपमा प्रति सदस्य रु १०० बचत गरी समुहमा रहेका कुनै सदस्यलाई आर्थिक संकट परेको खण्डमा आर्थिक सहयोग पनि गर्ने गरेको छ । हरेक १५÷१५ दिनमा समुहमा रहेका सदस्यका घरमा पुरुषहरुले खैजडु र बालन गाउने गर्दछन भने महिलाहरुले संगिनी गाउने गर्दछन ।
बिशेष चाडपर्बको अवसरमा उक्त समुहले सार्वजनिक स्थान वा मठमन्दिरमा साँस्कृतिक झाँकि सहित मौलिकता प्रस्तुत गर्ने गर्दछ ।